
पोखरा । आगामी भाद्र १० र ११ गते पोखरामा मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार, प्रस्तोता, सम्पादक, क्यामरापर्सन लगाएतले सहभागिता जनाउन पाउने जक्शन डटकमका अरुण गिरीले जानकारी दिएका छन् । प्रतियोगितामा गण्डकी प्रदेशका अन्य जिल्लाका संचार माध्यमहरुले समेत सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिता भाग लिनका लागि रेडियोको हकमा न्युज रिर्पोटर, रिडर, टेक्निसियन, कार्यक्रम प्रस्तोता, पत्रिकाको हकमा रिर्पोटर, फोटो पत्रकार तथा सम्पादकले भाग लिन पाउने गिरीले बताएका छन् । त्यस्तै प्रतियोगिताका लागि अनलाइनको हकमा रिर्पोटर, फोटोग्राफर, भिडियो रिर्पोटर तथा सम्पादन र प्रोडक्सन हाउसको हकमा फोटोग्राफर, भिडियोग्राफर, भिडियो सम्पादक तथा निर्देशकहरुलाई मात्र सहभागी गराउन पाउने गिरीले जानकारी दिएका छन् ।
यस्तै गरी महिला पत्रकार तथा नेपालका चर्चित नायिकाहरुका बीचमा समेत मैत्रीपुर्ण फुटसल प्रतियोगिताको आयोजना गरिने भएको छ । प्रतियोगितामा भाग लिनका लागि विभिन्न नायिकाहरुसंग कुराकानी जारी रहेको आयोजकले जानकारी दिएको छ । जक्शन डटकम तथा सिक्सिटन प्रोडक्सनको सहकार्यमा हुने उक्त प्रतियोगिता गणेशटोलमा रहको स्पोर्टस् क्यासलमा हुनेछ ।
नकआउटका आधारमा खेलाइने खेलका लागि टिम दर्ता गराउन ५ हजार रुपैयाँ सहित सबै खेलाडीको नाम, कार्यरत संस्था र पद खुल्ने परिचयपत्रको प्रतिलिपी समेत बुझाउनुपर्ने कार्यक्रममा बताइएको छ । प्रत्येक टिममा ६ जना खेलाडी, २ जना वैकल्पिक खेलाडी, एक जना टिम कोच तथा एक जना टिम म्यानेजर सहित १० जना हुनुपर्ने गिरीले बताएका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार तथा दोस्रो हुने टिमलाई २५ हजार सहित ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ । त्यस्तै गरेर उत्कृष्ट खेलाडी र अनुशासित टिमलाई नगद ५ हजार तथा सर्वाधिक गोलकर्ता र गोलरक्षकलाई नगद ३ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी गराएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुबन पौडेल प्रोमोटरको रुपमा रहेका छन ।
