सागका लक्षित विभिन्न खेल मैदानको निरिक्षण, ‘सागका लागि पोखरा तयार छ’–राखेप सदस्य गुरुङ

पोखरा, २१ साउन । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा हुने महिला फुटबलको लागि यति बेला पोखरा फुटबल रंगशालाको काम सुष्त गतिमा काम अघि बढे पनि अन्य वार्मअप म्याचका लागि भने अन्य खेल मैदानको काम करिब–करिव अन्तिम चरणमा पुगेका छन ।

पोखरा महानगरपालिका १९ लामाचौर गोष्तेघाट खेल मैदानको काम असौजको मसान्त सम्म सकिने उक्त मैदान उपभोक्त समितीका अध्यक्ष सुरेन्द्रमान सिंह भण्डारीले जनाएका छन । यूवा तथा खेलकुद मन्त्रालय अन्तरगत राष्ट्रिय खेलकुद परिषदको गत आव सम्म विभिन्न चरणमा गरि १ करोड ८२ लाखको काम सम्पन्न भएको अध्यक्ष भण्डारीले बताए ।

गोष्तेघाट खेल मैदानको निर्माण कार्य सक्न यस आर्थिक वर्षमा परिषदको १ करोड र पोखरा महानगरको ५० लाख रुपैया बजेट विनियोजित भएको अध्यक्ष भण्डारीले जानकारी दिए । ‘हामीले अव मैदानलाई सम्याउने र चेन्जिङ रुम बनाउने तयारी थालेका छौं असौज मसान्त सम्म काम सक्ने लक्ष्य छ’ उनले भने । उनले गोष्तेघाट खेल मैदानलाई वृक्षारोपण सहित मैदानको सुन्दरता बढाउन पनि काम सुरु गरिने बताए ।

यसै गरि पोखरा महानगर २५ स्थित गौरी शंकर खेल मैदानमा समेत यति बेला धमाधम घाँस रोप्ने काम भएको छ । गत आवमा परिषदको ५० लाखले मैदान सम्याउने र नाली बनाउने काम सम्पन्न भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका इन्जिनियर प्रनिश ताम्राकारले बताए । यस आर्थिक वर्षमा उक्त मैदानका लागि थप १ करोड प्राप्त भएको छ । उक्त रकम बाट प्यारापिट र चेन्जिङरुम निर्माणको कार्य शुरु गरिने इन्जिनियर ताम्राकारले जानकारी दिए ।

साग तयारीका लागि राखेप बोर्ड सदस्य राजेश गुरुङको नेतृत्वमा ति दुवै खेल मैदानको निरिक्षण गरिएको छ । ‘मैदानको काम सक्न मन्त्रि जगत विश्वकर्माले समेत चासो दिएर छिटो काम सक्न भन्नुभएको छ’ राखेप सदस्य गुरुङले भने–‘अव यि दुवै खेल मैदान समयमा नै निर्माण हुनेछन ।’ आम पोखरा बासी समेत १३ औं सागको पर्खाइमा बसेकोले पनि अव साग हुन्न भन्नेमा कुनै द्विविधा नरहेको र आवश्यक बजेट समेत प्राप्त भएकोले सागका लागि पोखरा तयार रहेको बताए ।

परिषदले विशेष चासोका साथ सम्पन्न गर्न लागेका गौरी शंकर खेल मैदान र गोष्तेघाट खेल मैदान १३ औं सागका लागि वार्मअप म्याचका लागि तयार गरिएका हुन । यि दुई मैदान बाहेक पोखरा विजयपुर ब्यारेकको खेल मैदान समेत प्रयोग गरिने राखेप सदस्य गुरुङले जानकारी दिए । पोखरामा आयोजना हुने साग अन्तरगतका ७ वटा खेलको विभिन्न पूर्वाधार निर्माणमा परिषदले विशेष चासो दिएको उनले बताए । गुरुङको नेतृत्वमा यति बेला पोखरा रंगशाला भित्र समेत सरसफाई लगाएत वृक्षारोपणका कामहरु भइरहेका छन ।

निर्माण कार्य भइरहेका खेल मैदान राखेप सदस्य गुरुङको नेतृत्वमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका निर्देशक विद्या मर्सानी, जिल्ला खेलकुदका निवर्तमान अध्यक्ष याम बहादुर गुरुङ, क्षेत्रिय उपनिर्देशक कृष्ण तिमिल्सिना लगाएतको टोलीले विभिन्न खेल मैदानको निरिक्षण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close