सागका लागि करातेको छनोट प्रतिष्पर्धा हुने

पोखरा, १२ साउन । नेपाल कराते महासंघले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि करातेको छनोट प्रतिस्पर्धा साउन १६ गते आयोजना गर्ने भएको छ । कुमुतेको टिम इभेन्टतर्फ बन्द प्रशिक्षणमा सहभागी गराउन पुरुष÷महिला खेलाडीको छनोट गर्न प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

पुरुषमा ६७ केजी, ७५ केजी, ८४ केजी र ८४ केजीमाथिका खेलाडीहरुले सहभागिता जनाउन पाउने छन् । महिलामा ५५ केजी, ६० केजी, ६८ केजी र ६८ केजीमाथिका खेलाडीहरुले भाग लिन पाउने छन् । यस बाहेक महासंघले अन्य आधारहरु पनि तोकेको छ । छनोट प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गरेको पाँचौंदेखि सातौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडी, राखेप च्याम्पियनसिपका पदक विजेता, महासंघले आयोजना गरेको आधिकारिक राष्ट्रिय प्रतियोगिताका पदक विजेताले सहभागिताको अवसर पाउने छन् ।

करातेका बाँकी स्पर्धाका खेलाडीहरु भने बन्द प्रशिक्षणमा समावेश भइसकेका छन् । टिम कुमुते आठौं राष्ट्रिय खेलकुदमा समावेश नभएकाले छुट्टै छनोट गर्नु परेको महासंघले जनाएको छ । पहिलो चरणमा पुरुषतर्फ १४ र महिलामा १० खेलाडी छनोट गरिने छ । अन्तिममा पुरुषमा ७ तथा महिलामा ५ खेलाडी छनोट हुने छन् । छनोट सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते एकेडेमी हलमा सञ्चालन गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close