
केशब पाठक,
पोखरा, १० साउन । हतारमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगञ्जमा चलिरहँदा धेरैं अन्तराष्ट्रिय पदकधारी र अन्तर्राष्ट्रिय खेलमा अनुभब संगालेका खेलाडी विदेश तिरै थिए । पटक–पटक आयोजनाको मिती परिवर्तन भएको आठौं राष्ट्रिय हुने वा नहुने टुँगोमा समेत थिएन । त्यसैले अध्ययन लगाएत प्रशिक्षणको सिलसिलामा बिदेशमा रहेका खेलाडीलाई प्रतियोगितामा सहभागिताका लागि मात्रै नभई छनोटको आधार तय भएको राष्ट्रिय खेलकुद बाट बञ्चित भए ।
चार महिना पछि नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका दिन नजिकिंदै जाँदा विदेशमा रहेका र पटक–पटक राष्ट्रका लागि अव्वल ठहरिएकाहरु सहभागिताका लागि राष्ट्रिय खेलकुद परिषदको ढोका कुरेर बसेका छन । केहीले त सदस्य सचिबलाई सम्वोधन गरेर सहभागिताका लागि निवेदन समेत पठाएका छन । त्यस्तै निवेदन पठाउने मध्ये एक हुन भलिबलकी सिपोरा गुरुङ मात्रै छैनन नेपाल टेनिस संघले समेत राखेपलाई बिदेशमा रहेका आफ्ना खेलाडी छनोट गर्न पाउँ भन्दै पत्र पठाएको छ ।
नेपालमा हतार र अचानकमा भएको आठौं राष्ट्रिय खेलकुदको आयोजना चलिरहँदा उनी अमेरिकामा अन्तिम परिक्षा दिन व्यस्त थिइन । परिक्षाका कारण उनी आउन सकिनन । देशका लागि भलिबलमा आफ्नो योगदान दिएकी सिपोरा आफू विदेशमा रहे पनि अध्ययन संगै भलिबललाई निरन्तरता दिइरहेको बताउँछिन र पहिला भन्दा आफ्नो खेल निखारिएको र फिट रहेको दावी समेत गर्छिन ।
आठौं राष्ट्रियमा सहभागिता जनाउन सिपोराको प्रयास असफल भयो किन भने प्रतियोगिता तोकिएको समयमा भएन । आठौं राष्ट्रियलाई नेपालमा आयोजना हुने १३ औं सागका लागि समेत खेलाडी छनोटको आधार बनाएको राखेपले त्यसमा सहभागिता नजाउनका साथ १३ औं साग खेल्ने हुटहुटी पालेका धेरै जसो विदेशमा रहेका अनुभबी खेलाडीले सिपोराले जस्तै अवसर बाट बञ्चित हुने अवस्था देखिन्छ । अहिले अन्तर्राष्ट्रिय खेल बाट राष्ट्रका लागि पदक दिलाउन अठोट पालेकाहरु सहभागिता जनाउन पाइने आसमा परिषदको ढोकामा एकटक आँखा जुधाएर बसेका छन ।
१३ औं सागका लागि पदकका दावेदर मानिएका टेनिसका खेलाडी द्वय मयँका र महिमा, १८ औं एशियाली खेलकुदमा सहभागिता जनाएका अभिषेक बास्तोला, तेक्वान्दोकी यान कुमारी चौलागाई, ज्ञानी चुनारा, सन २०१६ मा रियो ओलोम्पिक खेलेकी तेक्वान्दोकी निशा रावल लगाएत दर्जनौ खेलाडी विदेशमा छन । जस बाट राष्ट्रले पदकको आश गर्न सक्थ्यो । नेपाल टेनिस संघले विश्व रेकिंङमा रहेका आफ्ना खेलाडीलाई सागमा सहभागिता जनाउन राखेपलाई पुनः एक पटक छनोटको मौका प्रदान गर्न आग्रह गरेको हो ।
महिला भलिबल टिम छनोटमा विवाद
नेपाल भलिबल संघले १३ औं सागका लागि महिला खेलाडीहरुको नामको सूची बाहिर आउन साथ राष्ट्रिय टिमकी कप्तान बिनिता वुढाथोकी र उपकप्तान मञ्जु गुरुङको नाम नपरेपछि भलिबलका विज्ञहरुले आश्चर्य व्यक्त गरे । राष्ट्रिय टिमका कप्तान र उपकप्तान सागका लागि टिममा नपरेपछि भलिबलका राष्ट्रिय प्रशिक्षकहरुले समेत दुबैजना अन्यायमा परेको बताइरहेका छन ।
भलिबल संघका उपाध्यक्ष तथा टिम छनोट समितीका संयोजक याम गुरुङले उनीहरु परिक्षामा फेल भएको दावी गर्छन । उनीहरुलाई संघले दोश्रो मौकानै नदिई साग जस्तो महत्वपूर्ण खेलमा टिम भन्दा बाहिर राखेकोमा प्रश्न उठाइरहेका छन । अहिले बिनिता र मञ्जु आफू माथी अन्याय भएको भन्दै राखेप गुहारेका छन । तर उनीहरुको साग खेल्ने अवसरका लागि राखेपले फेरि कुनै निती अवलम्वन गर्छ वा गर्दैन त्यो भने पर्खाईका विषय बनेको छ ।
धेरै जसो मुलुकमा विभिन्न अन्तर्राष्ट्रिय खेलमा खेलेका र पदकका दावेदारहरुलाई सम्मानपूर्वक बोलाएर राष्ट्रिय टिममा राखिने मात्रै नभई मौका समेत दिइन्छ । तर राखेपको वर्तमान खेल छनोट विधीले त्यस्ता अन्तर्राष्ट्रिय ऐरिनामा आफ्नो दक्षता देखाउनेहरुका लागि अवसर बाट बञ्चित भएका छन । कार्वाहीमा परेका देखि विदेशमा रहेर छनोटमा छुटेका खेलाडीलाई राखेपले कुनै विधी बनाएर सागमा अवसर प्रदान गर्नुपर्ने आवाज पनि उत्तिकै चर्को बन्दै गएको छ ।
