एक भोटले एशियन तेक्वान्दो च्याम्पियनशिप नेपालले गुमायो

पोखरा, २ साउन । सन २०२० को मार्च २१ देखि २६ सम्म आयोजना हुने एशियन तेक्वान्दो च्याम्पियनशिप आयोजना लागि जोर्डनको अम्मानमा पुगेको नेपाली तेक्वान्दो प्रतिनिधीमण्डल रित्तो हात नेपाल फर्कने भएको छ । प्रतियोगिता आयोजनाका लागि जोर्डनको राजधानी अम्मानमा वल्र्ड तेक्वान्दो एशियाको सम्पन्न बैठकमा नेपाल एक भोटले पछाडी पर्दा नेपालले उक्त प्रतियोगिता आयोजना गर्ने अबसर गुमाएको हो ।

बैठक समापन पछि कुरा गर्दै गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष तथा नेपाली प्रतिनिधी मण्डलका सदस्य जगन गुरुङले नेपालले ६ र लेवननले ८ भोट पाएको बताए । अध्यक्षले भोटिङ गर्न नपाउने तर मत बराबर भएमा निर्णायक मत दिन पाउने अधिकार रहेको भए पनि नेपालले सो अवसर समेत गुमाएको थियो । ‘यदि मत बराबर भएको भए हामीले सोचे जस्तो हुने थियो तर हामी एक भोटले पछाडी भयौ’ अध्यक्ष गुरुङले भने ।

एशयिाका धेरै जसो मुलुकहरु बैठकमा उपस्थित नभएपछि समेत यो अवस्था आएको अध्यक्ष गुरुङले बताए । ‘खाडी देशका सबै सदस्य राष्ट्रहरु बैठकमा पुगे तर एशियाली देशका पुगेनन त्यसले गर्दा पनि हाम्रो अवसर गुम्यो’ अध्यक्ष गुरुङले भने–‘हामी लेवनन भन्दा पूर्वाधारमा समेत निकै कमजोर रहेछौं, उनीहरु संग एउटै हल ८ हजार क्षमताको रहेछ, हामी त धेरै पछि थियौं त्यही ६ भोट पनि नेपाललाई माया गर्नेहरुले दिएका थिए ।’

नेपालले उक्त प्रतियोगिता बाट बञ्चित हुनु परे पनि एशियालीस्तरकै अन्य तेक्वान्दो प्रतियोगिताहरु आयोजना गर्न वल्र्ड तेक्वान्दो एशियाका महासचिब संग छलफल भएको बताए । ‘महासचिबले यस बारे गम्भिर भएर सोच्नु भएको मात्र छैन नेपाल फर्के पछि तुरुन्तै परियोजनापत्र पठाउन भन्नु भएको छ’अध्यक्ष गुरुङले भने–‘यो प्रतियोगिता आयोजना गर्न नपाए पनि हामी निकै उत्साही भएर नेपाल फर्कदैं छौं ।’

वल्र्ड तेक्वान्दो एशियाको बैठकमा सहभागि हुन चार दिन अघि जोर्डन जाने टोलीमा नेपाल तेक्वान्दो संघका अध्यक्ष अध्यक्ष प्रकाश सम्शेर राणा र महासचिब दिपराज गुरुङ लगाएत रहेका थिए । नेपाली तेक्वान्दो टोली भोली नेपाल फर्कने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close