करार कर्मचारीहरुको समस्या चाँडै हल हुन्छः सदस्य सचिब सिलवाल

पोखरा, २५ असार । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले करार कर्मचारीहरुको समस्या चाँडै हल हुने बताएका छन् ।

राखेप करार तथा अस्थायी कर्मचारी संघले बुधबार आयोजना गरेको नवनियुक्त सदस्य–सचिव सिलवालको स्वागत तथा निवर्तमान सदस्य–सचिव केशवकुमार विष्टको बिदाइ कार्यक्रममा सदस्य–सचिव सिलवालले भने– ‘तपाईंहरुको स्थायी हुनु पर्ने मागका विषयमा धेरै लामो समय कुर्नु पर्दैन, चाँडै परिणाम आउछ ।’ उनले भने–‘मैले तपाईंहरुको समस्याका बारेमा विभागीय प्रमुखसंग छलफल गरिसकेको छु यहि वर्ष भित्र समस्या हल गरेर तपाईंहरुले स्थायी हुनु पर्ने माग राख्दै गठन गरेको संघर्ष समिति भंग गर्ने छौं ।’

विगत लामो समयदेखि राखेपमा कार्यरत करार तथा अस्थायी कर्मचारीहरुले स्थायी हुनु पर्ने माग राख्दै आएका थिए ।

सदस्य–सचिव सिलवालले आफूलाई भेट्न आउदा समस्या मात्र नभइ त्यसको उपाय पनि संगै लिएर आउन बताउदै उचित सुझाव भए धाउनु पर्ने ठाँउमा आफू स्वयं धाउने प्रतिबद्धता व्यक्त गरे ।

निवर्तमान सदस्य–सचिव विष्टले करार कर्मचारीलाई स्थायी गर्ने सम्बन्धमा आफूले चार वटा समिति गठन गरेको स्मरण गर्दै त्यसलाई वर्तमान सदस्य–सचिवज्यूले पूरा गर्ने विश्वास व्यक्त गरे । निवर्तमान सदस्य–सचिव विष्टले आफू खेलकुद भन्दा कहिलै बाहिर रहन नसक्ने बताउदै खेल क्षेत्रमै योगदान दिन प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे ।

‘खेलकुद भन्दा बाहिर जान्न, यहि क्षेत्रमा योगदान दिन प्रयासरत रहन्छु’ निवर्तमान सदस्य–सचिव विष्टले भने– ‘शिर ठाडो पारेर आएको थिए, शिर ठाडो पारेर जाँदैछु, यसमा मलाई दुःख छैन, ४ वर्षका लागि आएको थिए त्यो जिम्मेवारी पूरा गरेर गए ।’

राखेप करार तथा अस्थायी कर्मचारी संघका अध्यक्ष काजीमान श्रेष्ठले स्थायी हुनु पर्ने विगत लामोदेखिको माग वर्तमान सदस्य–सचिवको कार्यकालमा पूरा हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कर्मचारीहरुले नवनियुक्त सदस्य–सचिव सिलवाललाई फुल माला लगाइ स्वागत गरेका थिए भने अध्यक्ष श्रेष्ठले निवर्तमान सदस्य–सचिव विष्टलाई मायाको चिनो प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close