
केशब पाठक,
बेलायतमा यति बेला आइसिसी क्रिकेट विश्वकपको करिब–करिब अन्तिम चरणका खेलहरु जारी रहि रहँदा यता पोखरेली मंच यूकेले आयोजना गर्ने चौथो संस्करणको पिपल नेपाल टि–२० क्रिकेट प्रतियोगिताको तयारी पनि करिब करिब अन्तिम चरणमा पुगेको मंचका अध्यक्ष मान प्रसाद गुरुङले जनाएका छन ।
पोखरेली मंच यूकेले बेलायतमा रहेका नेपाली संस्थाहरु मध्ये चार वर्ष देखि निरन्तर रुपमा क्रिकेट प्रतियोगिता गर्दै आइरहेको छ । यूवालाई खेल मार्फत अगाडी बढाउने मुख्य उद्धेश्यका साथ आयोजना गरिएको यस प्रतियोगिताको उपाधी बिजेता टिमले ८ सय पाउण्ड र उपविजेताले ५ सय पाउण्डका साथ आकर्षक ट्रफी र मेडलहरु प्राप्त गर्ने छन ।

मंचका अध्यक्ष गुरुङले बेलायतमा खेलकुदमा नगद पुरुस्कार भन्दा पनि उपाधी बिजेताले प्राप्त गर्ने ट्रफीले विशेष महत्व राख्ने बताउँदै भने–‘जती–जती यो प्रतियोगिताको संस्करण अगाडी बढ्दै जान्छ भविष्यमा त्यतीनै यो कपको महत्व पनि उत्तिकै बढ्नेछ ।’ खेल मार्फत यूवालाई खेल प्रोत्साहन दिन दिन पनि यो प्रतियोगिता महत्वपूर्ण रहेको बताउँदै उनले भने–‘खेलकुदलेनै हाम्रो आपसी सम्वन्ध बलियो बनाउन समेत अहम भूमिका खेल्नेछ ।’
पोखरेली मंच यूकेले बिजेता टिमको ट्रफी, वेष्ट व्याट्सम्यान, बेष्ट बलर, प्लेयर अफ दि टुर्नामेन्ट र खेलाडीलाई प्रदान गरिने कप, ट्रफी र मेडलहरु तयार भइसकेको अध्यक्ष गुरुङले जानकारी दिए । ‘खेलाडीले जसरी पसिना बगाएर मेहनत र लगनशिल भएर आफ्नो टिमलाई जिताउन मैदानमा परफर्मेन्स दिन्छन उनीहरु यि आर्कषक कप, ट्रफी र मेडलका हकदार हुन सक्छन’ अध्यक्ष गुरुङले भने ।

यूके रिडिङ स्थित क्रिकेट क्लब खेल मैदानमा यहि जुलाई १४ देखि २१ तारिख सम्म संचालन हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ । चौथो संस्करण सम्म आइपुग्दा १२ भन्दा बढी टिमहरु दर्ताका लागि आएको अध्यक्ष गुरुङले जानकारी दिए । रिडिङमानै प्रतियोगिता आयोजना बारे प्रष्ट पार्दै अध्यक्ष गुरुङले भने–‘रिडिङ नेपालीहरुको घना वस्तीको रुपमा बिकसित भइरहेकोले यसलाई खेलकुद शहरको रुपमा पनि अगाडी बढाउने संघको उद्धेश्य छ ।’
प्रतियोगिताका लागि बेलायत स्थित नेपाली राजदुतावास, रिडिङ स्थित रिडिङ नेपलिज कम्यूनिटी एशोसियसन लगाएत अन्य महत्वपूर्ण ब्यबसायिक प्रतिष्ठान र महानुभावहरुको सहयोग रहेको अध्यक्ष गुरुङले पोखरा स्पोर्टसलाई बताए ।
