
पोखरा, १९ असार । मित्र राष्ट्र ईटालीको नेपोलीमा आयोजना हुने ३० औं समर युनिभर्सियाड २०१९ मा सहभागि हुन जाने ६ सदस्यीय नेपाली तेक्वान्दो टोलीलाई बिहिबार एक कार्यक्रमबिच नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जनले बिदाई गरे ।
तेक्वान्दोले युनिभर्सियाडमा गेरुगी र पुम्सेमा प्रतिस्पर्धा गर्नेछ । नेपाली तेक्वान्दो टोलीको नेतृत्व ओलम्पियन तथा साग गेमका किर्तिमानधारी दीपक बिष्टले गर्ने छन् । बिष्टले प्रशिक्षकको भूमिका पनि निर्वाह गर्ने छन् । खेलाडीहरुमा सक्षम कार्कीले ८० केजी मूनि, उमेश राज भण्डारीले ६२ केजी मूनि, नम्रता तुलाधारले ६२ केजी मूनि, अश्मिता खड्काले ४९ केजी मूनि र पार्वती गुरुङ्गले एकल पुम्सेमा प्रतिस्पर्धा गर्नेछन् ।
जुलाई ३ देखि १४ तारिख सम्म आयोजना हुने युनिभर्सियाडमा नेपालले तेक्वान्दो र फेन्सिङ्गमा सहभागिता जनाउने छ । ३० औं संस्करण सम्म आईपुग्दा नेपालले भने पाँचौ पटक सहभागिता जनाउँदैछ ।
संघका उपाध्यक्ष एवं सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले अन्तराष्ट्रिय खेल क्षेत्रमा नेपालको नाम उच्च राख्न सफल तेक्वान्दोलाई यस युनिभर्सियाड गेममा पनि सफल बनाई राष्ट्रका शिर अझ उच्च बनाउन सफलताको शुभकामना ब्यक्त गर्दै पदक हासिल गरेमा आफ्नो र सुमेरु ग्रुपको तर्फबाट अझ बढि सम्मान गर्ने बताए ।
ओलम्पिककै झझल्को दिने ३० औं समर युनिभर्सियाडमा बिश्वका नाम चलेका र ओलम्पिकमा पदक हात पार्ने १७७ राष्ट्रका ८ हजार भन्दा बढि खेलाडीहरुले विभिन्न खेलमा प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले यस अघि ताईवानमा भएको २९ औं संस्करणमा ब्याडमिन्टन, भारोत्तोलन, फेन्सिङ्ग, टेनिस, टेवल टेनिस, एथलेटिक्स र तेक्वान्दोमा सहभागिता जनाएको थियो ।
