
केशब पाठक/तस्बिरः सुदर्शन रंजित
पोखरा, १८ असार । नेपाल खेलकुद पत्रकार मंचले आयोजना गरेको १६ औं संस्करणको बजाज पल्सर स्पोर्टस अवार्डमा ह्याट्रिक गरेको प्याराग्लाइडिङ टोली बुधबार पोखरा फर्किएको छ ।

मंगलबार काठमाडौमा सम्पन्न प्रतिष्ठित अवार्ड बजाज पल्सर स्पोर्टस अवार्ड २०७५ मा वर्ष पुरुष तर्फ अवार्ड हात पार्न सफल यूकेश गुरुङ, वर्ष उत्कृष्ट प्रशिक्षक योगश भट्टराई र टिम अफ दि इएर हुन सफल प्याराग्लाइडिङ टिमका सदस्यहरु आज बिहान पोखरा आइपुगेका हुन । एउटै अवार्ड कार्यक्रममा तिन–तिन वटा अवार्ड हात पार्दै प्याराग्लाइडिङले ह्याट्रिक पुरा गरेको हो ।

पोखरा बिमानस्थलमा आइपुगेका उनीहरुलाई नेपाल हवाई खेलकुद संस्था (ना), नेपाल प्यारग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ, प्याराग्लाइडिङ पाइलट क्लब लगाएत पर्यटन ब्यबसायीहरु, शुभेच्छुक तथा परिवारहरुले फुल, माला र खादाले स्वागत गरेका थिए ।पञ्चे बाजा सहित पोखरा बिमानस्थलमा उनीहरुलाई स्वागत गरिरहँदा फोटो खिचाउनेको भिड पनि उत्तिकै देखिन्थ्यो ।

अवार्ड जिते संगै वर्ष उत्कृष्ट हुन सफल यूकेशले ३ लाख २० हजारको बजाज पल्सर मोटरबाइक, संसारको कुनै ठाउँमा जान आउन २ लाख ५० हजारको टर्किस इएरलाइन्सको टिकट, डिस होम कनेक्शन सहित २ वर्षको निशुल्क जडान, टाइमेक्स घडी, गोल्डस्टार जुत्ता बाट गिफ्ट ह्याम्पर, न्यू होराइजनका तर्फ बाट कार्पेट र केल्मीका तर्फ बाट स्पोर्टस वेयर प्राप्त गरेका छन ।

त्यसै गरि वर्ष उत्कृष्ट प्रशिक्षक हुन सफल प्रशिक्षक योगेशले ३ लाख २० हजारको बजाज पल्सर मोटरबाइक, डिस होम कनेक्शन सहित २ वर्षको निशुल्क जडान, टाइमेक्स घडी, गोल्डस्टार जुत्ता बाट गिफ्ट ह्याम्पर, न्यू होराइजनका तर्फ बाट कार्पेट र केल्मीका तर्फ बाट स्पोर्टस वेयर प्राप्त गरेका छन ।

गत वर्ष सम्पन्न १८ औं एशियाली खेलकुदमा प्याराग्लाइडिङ खेलले एक मात्र रजत पदक जितेर नेपाललाई ऐतिहासिक सफलता दिलाएका थिए । सो पदक जिते लगतै प्याराग्लाइडिङ खेलको चर्चा ह्वात्तै बढेको थियो । सो अनुरुप नेपाली खेलकुद पत्रकारहरुको छाता संस्था नेपाल खेलकुद पत्रकार मंचले आयोजना गरेको बजाज पल्सर स्पोर्टस अवार्ड २०७५ मा प्याराग्लाइडिङले ३/३ वटा अवार्ड हात पार्दै ह्याट्रिक गरेको छ ।





