सागलाई लक्षित गर्दै करातेलाई केल्मीको प्रायोजन गर्ने सम्झौता

पोखरा, १३ असार । केल्मी नेपालले राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी राष्ट्रिय टिम तयारीले सञ्चालन गरिरहेको विशेष प्रशिक्षणमा रहेका कराते खेलाडी सहितको टोलीलाई खेल पोशाक प्रायोजन गरेको छ ।

केल्मीले विशेष प्रशिक्षणमा रहेका २१ खेलाडी, २ प्रशिक्षक र १ व्यवस्थापकसहित २४ सदस्यीय टोलीको सामान खरिदमा २ लाख रुपैयाँ प्रायोजन वापत छुट दिएको हो । सामान खरिद गर्न महालक्ष्मी पेन्ट्स, गोदावरी नगरपालिका, आठौं साफका स्वर्णधारी रवि महर्जन र सम्झना ल्याबले आर्थिक सहयोग गरेका थिए ।

खरिद गरिएको ५ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको सामाग्रीमा केल्मीले २ लाख रुपैयाँ प्रायोजन वापत छुट दिएको विशेष प्रशिक्षणका प्रशिक्षक समेत रहेका १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता कुशल श्रेष्ठले जनाएका छन् ।

त्यस्तै केल्मीले आफ्नो सामान खरिदमा १३ औं सागको विशेष प्रशिक्षणमा रहेका टोलीका सदस्यलाई ३० प्रतिशत तथा अन्य राष्ट्रिय कराते खेलाडीलाई २० प्रतिशत छुट दिने भएको छ । साथै सागमा कुनैपनि खेलका स्वर्ण विजेता खेलाडीलाई आफ्नो सामान खरिदमा ३० प्रतिशत छुट पनि दिने भएको छ ।

नेपाल कराते महासंघका सह–अध्यक्ष दावा गुरुङ र केल्मीका लागि नेपालको आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रा.लि. का प्रबन्ध निर्देशक उत्तम न्यौपानेले शुक्रबार एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे । हाललाई २ वर्षका लागि सम्झौता भएको कार्यक्रममा जानकारी दिइयो ।

सम्झौता हस्ताक्षर कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, सामाग्री खरिद गर्न आर्थिक सहयोग गर्ने संस्थाका प्रतिनिधि, खेलाडीलगायतको उपस्थिति रहेको थियो । सोही अवसर सम्बन्धितलाई सामाग्री पनि वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close