
केशब पाठक
पोखरा, ७ बैशाख । पोखरा महानगरपालिका वडा नं ५ ले खेलकुद बिकासका लागि भन्दै खेलकुद बिकास कोषको घोषणा गरेको छ ।
घोषणा संगै पोखरा महानगरका ३३ वडा मध्ये वडा नं ५ खेलकुद बिकासका लागि पहल गर्ने पहिलो वडा समेत बनेको छ । वडा नं ५ को ४५ औं पूर्ण बैठकले वडाको खेल बिकासका लागि खेलकुद बिकास कोष स्थापना गर्ने निर्णय गरेको हो ।
पोखरा महानगर वडा नं ५ ले एक कार्यक्रम मार्फत खेलकुद बिकास कोषको घोषणा गर्दै खेलकुद बिकासका लागि र यूबा पुस्तालाई खेलतर्फ आर्कषित गरि उनीहरुको खेल भविष्य शुनिष्चित गर्न र कुलत बाट टाढा राख्न यस्तो योजना ल्याएको जनाएको हो ।
वडाका अध्यक्ष एवम पोखरा महानगरका प्रवक्ता समेत रहेका धन बहादुर नेपालीले वडा नं ५ खेलकुदमा इतिहास बोकेको वडा भएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन भइरहेको थलो भए पनि त्यसलाई व्यवस्थित गर्न नसकिएको बताए । उनले भने–‘खेलकुद बिकास कोष अहिले झट्ट हेर्दा सानो कार्यक्रम होला तर यसले भविष्यमा खेलकुद बिकासमा राम्रो प्रभाव पार्ने छ ।’
खेलकुद बिकास कोषका संयोजक समेत रहेका अध्यक्ष नेपालीले यो कार्यक्रम वडाको मात्रै नभएर वडाको अगुवाईमा स्थानिय जनताको समेत प्रत्यक्ष सहभागिता हुने गरि ल्याइएको बताए । उनले भने–‘वडा नं ५ खेलकुद आधार भएको वडा पनि भएकोले वडाको बिकासमा सन्तुलन कायम गर्न पनि यो कार्यक्रम प्रभावकारी हुनेछ ।’
उक्त कार्यक्रमका लागि वडा अध्यक्ष नेपालीको संयोजकत्वमा २७ सदस्यिय खेलकुद बिकास कोष समिती गठन गरिएको छ । समितीमा राष्ट्रिय फुटबल खेलाडी अनिल गुरुङ, पूर्ब राष्ट्रिय भलिबल खेलाडी हरिप्रसाद पराजुली, फुटबलका नगेन्द्र घर्ती, पुष्प केसी, एथलेटिक्सका सोमनाथ भुत्र्याल लगाएत रहेका छन । समितीमा समेटिएका सबै विभिन्न खेल संग सम्वन्धित छन ।
समितीमा विभिन्न सामाजिक क्षेत्रका ११ सदस्यिय सल्लाहाकार र विभिन्न देशका ११ जनालाई बिदेश सल्लाहाकार समितीमा समेटिएको छ । उक्त कार्यक्रमका लागि ५ सदस्यिय कोष संचालन कायविधि तयारी समिती समेत गठन गरेको छ ।
घोषणा कार्यक्रममा वडा सदस्य पूष्पराज बरालले नयाँ वर्ष संगै वडामा ५ वटा कार्यक्रम घोषणा गर्ने वडाको कार्यक्रम बमोजिम खेलकुद बिकास कार्यक्रम घोषणा गरिएको बताए । कार्यक्रममा वडा सदस्य उज्जवल खत्री, अञ्जु केसी, हरि सुनार, पूर्ब राष्ट्रिय खेलाडी हरिप्रसाद पराजुली, पूर्व वडा अध्यक्ष रामजी बराल, खेलप्रेमी तथा समाजसेबी विष्णु बराल लगाएतले खेलकुद बिकास कार्यक्रमले खेलकुद बिकासमा महत्वपूर्ण प्रभाव पार्ने बताए ।
Chairman Dhan Bahadur Nepali. Pokhara Metro City 5
Posted by PokharaSports.com on Friday, April 19, 2019
