पुरुष क्रिकेट : पुलिस र एपिएफ बिजयी, गण्डकी प्रदेश ७ संग भिड्ने

पोखरा, ४ बैशाख, । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बुधबारबाट भैरहवामा सुरु भएको पुरुष क्रिकेट प्रतियोगिता(टि–२०) मा विभागीय टिमहरु नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएका छन् । पुलिसले प्रदेश नं. ५ लाई ६३ रनले र एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्यो ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको पुलिस क्लबले २० ओभरमा ८ विकेट क्षतिमा १ सय ७१ रनको ठुलो योगफल बनायो । उसका लागि कुशल भूर्तेलले ६ चौका, एक छक्का मद्दतमा ३१ बलमा ५५ रन बनाए । यस्तै, दीपेन्द्रसिंह ऐरीले ३८ र कप्तान मञ्जित श्रेष्ठले नटआउट २२ रन बनाए । बलिङमा प्रदेश पाँचका कृष्ण कार्की, विक्रम भुसाल र शौरभ खनालले समान २–२ विकेट लिए ।

१ सय ७२ रनको विजयी लक्ष्यसहित ब्याटिंग गर्न मैदान उत्रेको प्रदेश पाँचले निर्धारीत २० ओभरको खेलमा ६ विकेट क्षतिमा १ सय ८ रन मात्रै बनाउन सक्यो । उसका लागि अनुपम सिंहले ३७ र कृष्ण कार्कीले नटआउट १७ रन बनाए । बलिङमा पुलिसका ललित राजवंशीले २, दीपेन्द्र सिंह ऐरी, मञ्जित श्रेष्ठ, कुशल भूर्तेल र आरिफ सेखले समान १–१ विकेट लिए । पुलिसका कुशल भूर्तेल म्यान अफ द म्याच घोषित भए ।

दोश्रो खेलमा जितका लागि सुदूरपश्चिमबाट पाएको ८२ रनको लक्ष्य सशस्त्रले १९ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो । उसको जितमा शरद भेष्वाकरले सर्वाधिक १८, भुवन कार्किले १६ र सुमित महर्जनले नटआउट १५ रन बनाए । बलिङमा सुदूरपश्चिमका नरेन्द्र साउद र शेर मल्लले समान २–२ तथा महेश अधिकारी, विकाश ऐरी र अजय ऐरीले समान १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले १८.३ ओभरमा सबै विकेट गुमाई ८१ रन बनाएको थियो । उसका लागि दीपक बोहराले १७, लोकेश बमले १५ र खडक बोहराले १२ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा सशस्त्रका शरद भेष्वाकरले ५, भुवन कार्कीले २, बसन्त रेग्मी र पृथु बाँस्कोटाले १–१ विकेट लिए । शरद म्यान अफ द म्याच भए ।

बिहीबार प्रदेश पाँच र सशस्त्र प्रहरीको एपिएफ क्लब तथा प्रदेश ७ र गण्डकी प्रदेश बीच प्रतिस्पर्धा हुने प्रतियोगिता ब्यबस्थापन समितीका संयोजक तथा रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले बताए ।

यस अघि प्रतियोगिताको उदघाटन प्रतिनिधी सभा सदस्य घनश्याम भुषालले गरेका थिए । राष्ट्रिय खेलकुद अन्तरगत समुह ए को खेलहरु भैरहवामा सुरु भएको हो । लिग चरणका १० खेल हुनेछन् र सेमिफाईनल प्रबेश गर्ने २ टिमको टुंगो यही लाग्नेछ । प्रतियोगिताको सेमिफाईनल र फाईनल खेल भने नेपालगन्जमा हुनेछ । समुह ए मा गण्डकी प्रदेश, प्रदेश नम्बर ५, सुदुर पश्चिम प्रदेश र बिभागिय टिमहरु नेपाल पुलिस क्लब र शशस्त्रको एपिएफ क्लब रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close