
केशब पाठक,
पोखरा, २ बैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा हुने प्याराग्लाइडिङ प्रतियोगिताको प्रारम्भिक तयारी सुरु गरिएको छ । बैशाख ६ गते बाट सुरु हुने प्याराग्लाइडिङ खेल बैशाख ९ गते सम्म संचालन हुनेछ ।
नेपालको प्याराग्लाइडिङ खेल इतिहासमा नै पहिलो पटक पोखरामा हुन लागेको प्रतियोगिताका लागि सबै खेलाडीहरु पनि उत्साही बनेका छन । करिब २० वर्ष इतिहास बोकेको नेपालको प्याराग्लाइडिङ खेलमा पहिलो पटक राष्ट्रिय खेलमा सहभागिता गराइएको हो ।

१८ औं एसियाली खेलकुदमा समेत पहिलो पटक समाबेश भई नेपालले रजत पदक जित्न सफल भए पछि प्याराग्लाइडिङ लाई खेलको रुपमा परिभाषित गर्न थालिएको छ । शाहसिक खेलको रुपमा परिचित प्याराग्लाइडिङ पोखरामा ब्यबसायिक रुपमा अघि समेत बढेको छ ।
पोखरामा हुने आठौं राष्ट्रिय अन्तरगत हुन लागेको प्याराग्लाइडिङ खेलका दुई बटा इभेन्ट हुनेछन । टिम इभेन्ट तर्फ एक्यूरेसी र टिम क्रस कन्ट्रि तथा इन्डिभिजुअल एक्यूरेसी र इन्डिभिजुअल क्रस कन्ट्री हुने नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ङ्ग्लाइडिङ संघ (नेफा) का महासचिब शैलेन्द्र राउतले बताए ।
‘आठौं राष्ट्रियका लागि खेलाडीहरु निकै उत्साहित रहेका छन’ महासचिब राउतले भने–‘हामीले यस प्रतियोगिता बाट रेङकिङको आधारमा महिला ८ र पुरुष १६ जना खेलाडीलाई राष्ट्रिय खेलाडीको रुपमा घोषणा गर्ने तयारी गरिरहेका छौ ।’
टिम इभेन्ट तर्फ एक्यूरेसी र टिम क्रस कन्ट्रि तथा इन्डिभिजुअल एक्यूरेसी र इन्डिभिजुअल क्रस कन्ट्री तर्फ घोषणा गरिने ति खेलाडीले नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि छनौट समेत गरिने बताए । पुरुष १६ जना बाट १३ औं सागका लागि ‘वेष्ट अफ दि बेष्ट’ रेङकिङका आधारमा ८ जना छानिने महासचिब राउतले बताए । महिला ८ जना बाट सोही अनुसार ‘वेष्ट अफ दि बेष्ट’ रेङकिङमा ५ जना अन्तिम छनौटमा पर्नेछन ।
१८ औं दक्षिण एसियाली खेलकुदमा सहभागी भएर रजत पदक जित्ने ५ जना मध्ये २ जना बिशाल थापा र बिजय गौतम आठौं प्रतियोगितामा नेपाली सेनाको त्रिभुबन क्लब बाट खेल्ने भएका छन । त्यसै गरि यूवा खेलाडी यूकेश गुरुङ र शुसिल गुरुङ गण्डकी प्रदेश र टिमका टिम कप्तान बिमल अधिकारी आठौं प्रतियोगिताको टिम इभेन्ट म्यानेजरको रुपमा रहने महासचिब राउतले जानकारी दिए । १८ औं एशियाडमा सहभागी महिला खेलाडी शबिता तामाङ, प्रतिभा भुजेल र त्रिशा श्रेष्ठ बमजन गण्डकी प्रदेश बाटै सहभागिता जनाउने छन ।
आठौं राष्ट्रिय प्रतियोगितामा कुल ५९ जना खेलाडीको टुँगो लागेको नेफाका सचिब इन्द्र भण्डारीले जानकारी दिएका छन । प्रदेश १ बाट २ महिला सहित १० पुरुष, प्रदेश ३ बाट १ महिला र १० पुरुष, गण्डकी प्रदेश बाट ४ महिला र १० पुरुष, कर्णाली प्रदेश बाट ४ पुरुष, प्रदेश ७ बाट ४ पुरुष र नेपाली सेनाको त्रिभुबन क्लब बाट ३ महिला र १० पुरुषको सहभागिता रहने छ ।
प्रतियोगितामा सहभाहिताका लागि खेलाडीहरु पोखरा आएर प्रशिक्षण समेत लिन सुरु गरेको सचिब भण्डारीले बताए । ‘राष्ट्रिय प्रतियोगिताका लागि मेडल, प्रमाणपत्र लगाएत अन्य सामाग्री हामीले प्राप्त गरिसक्यौं बैशाख ६ गतेको तयारीका लागि जुटिसकेका छौं’ उनले भने ।
प्याराग्लाइडिङ खेलले खेलकुदको विश्व मानचित्रमा नेपालको शाखलाई जोगाएको मात्रै छैन शाहसिक खेल प्याराग्लाइडिङ नेपालको पर्यटनको प्रमुख गन्तव्य पनि बनेको छ । २० वर्ष अघि पोखराको सराङकोट बाट सुरु भएको प्याराग्लाइडिङ अहिले नेपालका अन्य स्थान बाट शुरु गर्ने तयारी गरिदैंछ ।
