
पोखरा, २७ चैत । यति बेला आठौं राष्ट्रिय खेलकुदको चापाचाप छ । पाँच खेल आज बाट शुरु हुँदैछन । बैशाख ५ गते उद्घाटन हुँदैछ । खेलाडीहरु आफ्नो तयारी गरिरहेका छन । बिदाई कार्यक्रमहरु दिनहुँ जसो भइरहेको छ ।
तर त्यही भिडमा यस्ता खेलाडी पनि छन जसले आफ्नो घरको जोहो गर्न मुस्किल परिरहेको छ । खेलाडी भइसकेपछि लक्ष्य बिजेता बन्ने हुन्छ । तर घरको समस्या लगाएतका पारिबारिक समस्या झेलिरहेका अधिकांश खेलाडीहरु स्वतन्त्र ढङले न त प्रशिक्षण गर्न सक्छन न त खेल्न नै ।
गण्डकी प्रदेश बाट आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुने केही त्यस्ता खेलाडी छन जसलाई आफ्नो खेल जिवन अझै तिर्खान चाहन्छन । तर आर्थिक अवस्था झेलिरहेका कारण समस्यामा पनि छन । केही प्रशिक्षक र साथीहरुले त्यस्ता खेलाडीलाई आफ्नो तर्फ बाट सहयोग गरिरहेको भएपनि निकास भने निकाल्न अप्ठ्यारो नै छ ।

तर केही दानविर पनि छन जसले खेलाडीको समस्यालाई राम्रो संग बुझेका छन । ति मध्ये कोरियामा कार्यरत शिव श्रेष्ठ एक हुन । कोरियामा श्रम गरेर पसिना बगाउने श्रेष्ठले दुई जना खेलाडीलाई केही नगद पठाएर सहयोगको ढोका खोलेका छन । श्रेष्ठले पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको संयोजनमा केही नगद पठाएर समाजका हरेक तप्काका लाई खेलाडीलाई सहयोग गर्नुपर्छ भन्ने भावनाको बिकास गरिदिएका छन । उनी क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी समेत हुन । हुन पनि एक खेलाडीको मर्का एक खेलाडीलाई नै थाहा हुन्छ । उनी पोखरा क्रिकेट एकेडोकीका सदस्य समेत रहिसकेका छन ।
हालै मात्र कोरिया बाट श्रेष्ठले मार्शलआर्टका खेलाडी रुपक नेपालीलाई नगद ७ हजार ५ सय र बक्सिङका खेलाडी सबिन गुरुङलाई ७ हजार ५ सय नगद पठाए । पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका अध्यक्ष सम्पन्न श्रेष्ठले एक कार्यक्रम गरि दुबै जना खेलाडीलाई रकम हस्तान्तरण गरे । पक्कै पनि यो रकम सानो होला तर अप्ठ्यारेमा परेका खेलाडीलाई सहयोग गर्नु सर्हानिय कुरा हो । यसका लागि कोरियामा कार्यरत श्रेष्ठ धन्यबादका पात्र छन ।
अण्डर १६ को राष्ट्रिय क्रिकेट छनौटमा रहेर काठमाण्डौमा मलेसिया लागि जान बन्द प्रशिक्षणमा रहेका अर्जुन कुमाललाई पोखरा क्रिकेट एकेडेमी मार्फत श्रेष्ठले १० हजार नगद सहयोग गरेका छन । यसै गरि राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले कुमाललाई आफ्नो तर्फ बाट थप ५ हजार नगद प्रदान गरेका छन । कुमाल गुल्मीका हुन, तर उनी पोखरामा बस्छन ।
यसै गरि पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका अध्यक्ष श्रेष्ठले आठौं राष्ट्रिय खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका क्रिकेट खेलाडीलाई बलको अभाव भएपछि व्यक्तिगत रुपमा किनेर महिला र पुरुष खेलाडीहरुलाई प्रशिक्षणमा समस्या नहोस भन्नका लागि १२ थान बल प्रशिक्षक जिम्मी गुरुङलाई प्रदान गरेका छन ।
राज्य बाट खेलाडी के पाउँछन ?
आठौं राष्ट्रिय खेलकुद आयोजक राष्ट्रिय खेलकुद राष्ट्रिय खेलकुद प्रतियोगिताको महाकुम्भ गर्ने व्यवस्था गर्दैछ । तर राष्ट्रिय खेलकुदमा आफ्नो क्षमता पर्दशन गरेर भोली अन्तर्राष्ट्रिय खेलाडी बन्ने सपना बुनेका खेलाडीलाई भने निकै समस्या छ ।
परिषदले राष्ट्रिय खेल जस्तो महत्वपूर्ण प्रतियोगिताका लागि जम्मा पाँच दिनको बन्द प्रशिक्षण कार्यक्रम तोकेको छ । पाँच दिनको बन्द प्रशिक्षण र खेल अवधीमा एक खेलाडीले जम्म नगद १ हजार ४ सय प्राप्त गर्छन । खेलाडीले होटल खर्च, खान, डाइट, पानी सबै कुरा त्यही रकमले पुर्याउने पर्ने हुन्छ । यो रकम अहिलेको मंहगीमा कल्पना भन्दा बाहिर हो ।
त्यस बाहेक खेलाडीले एक जोर खेल पोशाक, एक जोर जुत्ता, एक जोर मोजा, एक थान ट्रयाकशुट, एक थान व्याग हो । जुन टिकाउ छैनन ।
