गण्डकी प्रदेश टेनिस खेलाडीलाई विदाई, आमा छोरी टिममा

पोखरा, २४ चैत । आठौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने गण्डकी प्रदेश स्तरिय टेनिस खेलाडीहरुलाई आइतबार दुई छुट्टा–छुट्टै कार्यक्रमका विच विदाई गरिएको छ ।

यहि चैत २७ देखि बैशाख २ गते सम्म प्रदेश ५ को वुटवलमा संचालन हुने प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती र कास्की जिल्ला टेनिस संघले विदाई गरेको हो ।

क्षेत्रिय खेलकुदमा आयोजित कार्यक्रममा अध्यक्ष सम्पन्न श्रेष्ठले अनुशासित भएर खेल्न आग्रह गरे । टेनिस अब खेल मात्रै नभएर प्रदेशलाई खेल पर्यटन तर्फ डोर्याउने सम्भावित खेल पनि भएकोले खेलाडीले त्यसतर्फ सोच्न र राजदुतको भूमिकामा रहेर अगाडी बढ्न उनले ध्यानाकृष्ट गराए ।

यता कास्की जिल्ला टेनिस संघको कार्यक्रममा कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाले खेलाडीको पहिलो यात्रा अनुशासन बाट शुरु हुने भएकोले त्यस तर्फ खेलाडी सदैव सचेत हुनुपर्ने बताए ।

कार्यक्रममा टिमका तर्फ बाट टिम कप्तान धरम सिंह लामिछाने, टिम म्यानेजर सूर्य भुजेलले आठौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले आशतित रुपमा सफलता प्राप्त गर्ने विश्वास लिएका थिए ।

कार्यक्रममा संघका सल्लाहकार बसन्त प्रधान, उपाध्यक्ष लोक गुरुङ, सचिब नविन चालिसे, कोषाध्यक्ष राजु गुरुङ लगाएतले खेलाडीलाई जितको शुभकामना दिंदै विदाई गरेका थिए ।

सिनियर खेलाडी धरम सिंह लामिछानेको कप्तानीमा गण्डकी प्रदेश बाट सहभागिता जनाउने पुरुष टेनिस खेलाडी तर्फ अनिल शाही, प्रदिप खडका, नविन मगर, गोविन्द नेपाली, गोपी भट्टराई रहेका छन । त्यसै गरि महिला तर्फ गंगा शर्माको टिम कप्तानीमा श्रेया भट्टराई, रोमिका बुद्धाचार्य, बिमला बस्याल र सुप्रिया बस्याल रहेका छन ।

यसै गरि टिम प्रशिक्षकमा निरज शाक्य र विदेशी प्रशिक्षक लि विलियम्स सहायक प्रशिक्षकका रुपमा रहेका छन । गण्डकी प्रदेश टिमले सिगल्स, डबल्स र टिम इभेन्टमा मैदानमा उत्रिने छ ।

गण्डकी प्रदेशको टेनिस टिममा आमा-छोरी

गण्डकी प्रदेश टेनिस खेलमा आमा छोरीनै टिममा रहेका छन । केही प्रतियोगितामा दाजु-वहिनी, दाजु -भाई, दिदि-बहिनी खेलेको देख्न र सुन्न पाइए पनि यो पटकको आठौं राष्ट्रिय खेलकुदमा आमा छोरी संगै खेल्ने छन ।

राष्ट्रिय स्तरका प्रतियोगितामा आमा छोरी खेलेको विरलै सुन्न पाइने कुरा हो । करिब २०/२१ वर्षको भिन्नता भएका आमा छोरी संगै टेनिस कोर्टमा उत्रिदा यसले चर्चा पाउने अपेक्षा गरिएको छ । आमा बिमला बस्याल र छोरी सुप्रिया बस्यालको जोडीले गण्डकी प्रदेशका लागि मेडल ल्याउने अपेक्षा समेत गरिएको छ ।

बाबा–छोरी पनि टिममा
गोपी भट्टराई र उनकी छोरी श्रेया पनि टिममा छन । १४ वर्षकी श्रेया महिला टिममा र बाबा पुरुष टिम बाट ८ ओं राष्ट्रियको टेनिस बाट खेल्दै छन ।

गोपी भट्टराई स्थापित पर्यटन ब्यबसायी मात्रै नभएर कास्कीका सिनियर टेनिस खेलाडी हुन । उनले भेट्रान तर्फ धेरै पदक हासिल गरिसकेको भएकाले पनि उनले आठौंमा भने अन्य राष्ट्रिय खेलाडीलाई पक्कै चुनौती दिनेछन ।

गण्डकी प्रदेशको टिममा १४ वर्षकी श्रेया भट्टराई देखि ५१ वर्षका धरम बहादुर लामिछाने मैदानमा उत्रिनेछन । लामिछाने विभिन्न सिनियर खेलमा उत्कृष्टता हासिल गर्दै अव्वल खेलाडीको रुपमा आफूलाई स्थापित गरिसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close