
केशब पाठक,
पोखरा, २३ चैत । आठौं राष्ट्रिय खेलुकद प्रदेश ५ को नेपालगञ्ज लगाएत विभिन्न जिल्लामा २०७६ बैशाख ५ गते आयोजना हुँदैछ । आयोजक राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा पुर्याएको छ । परिषदले केही खेलहरु चैत २७ गते बाट शुरु गर्ने योजनाका साथ अगाडी बढेको पनि छ ।
राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन गण्डकी प्रदेशका तर्फ बाट पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले पनि आफ्नो तयारीलाई करिब–करिब अन्तिम चरणमा पुर्याएको अध्यक्ष सम्पन्न श्रेष्ठले पोखरा स्पोर्ट्सलाई बताए ।
गण्डकी प्रदेश बाट कति खेलाडी
आसन्न राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले ३५ खेल मध्ये ३४ वटा विभिन्न खेलहरुमा सहभागिता जनाउने छ । आर्चरी, ट्रायथोलन, साइक्लिङ र शारिरिक सुगठनमा भने खेलाडीहरु सोझै छनौटमा परेका छन । प्रतियोगितामा ३ सय २ जना पुरुष, २ सय ५६ जना महिला ६५ जना प्रशिक्षक र ४७ जना व्यवस्थापक तथा सेफ दि मिसनको ३ सदस्यिय टोली सहित कूल ६ सय ७३ जनाको सहभागिता रहनेछ ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले सेफ दि मिसनको नेतृत्व सम्हाल्नेछन । जसमा डिपुटी सेफ दि मिसनमा कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी र प्रशिक्षण विभाग निर्देशक विद्या मर्सानी रहेको पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका डिबी नेपालीले बताए ।
कस्तो छ त तयारी
आठौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशका तर्फ बाट खेलाडीले पदकका लागि गहकिलो पर्दशन गर्ने अपेक्षा अध्यक्ष श्रेष्ठले गरेका छन । ‘हामी प्रत्येक खेल बाट स्वर्णपदक जित्ने गरि तयारी गरेका छौं’ उनले भने–‘महिला भलिबल देखि अन्य खेलमा ५ दिनको बन्द प्रशिक्षण भनिए पनि १५ दिन अगावै बाट आफ्नै खर्च गरेर खेलाडीलाई प्रशिक्षणको व्यवस्था मिलाएका छौं ।’
जिल्ला–जिल्लामा प्रशिक्षणमा रहेका खेलाडीलाई पनि उचित ढङ्गको प्रशिक्षणको व्यवस्था मिलाउन जिल्ला संघहरुलाई निर्देशन समेत गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
कुन कुन खेलमा पदकको सम्भावना
गण्डकी प्रदेश बाट टिम र व्यक्तिगत गरि केही खेलहरुमा आफ्नो वर्चश्व रहन सक्ने अनुमान क्षेत्रिय खेलकुदले गरेका छ । टिम गेममा विशेष गरि पुरुषतर्फ ह्याण्डबल, हक्की, भलिबल, क्रिकेट, सेपाक्ताक्रो जस्ता खेलहरुमा स्वर्ण पदक जित्ने अनुमान गरिएको छ । सेपाक्ताक्रोमा गण्डकी प्रदेश डिफेन्डिङ च्याम्पियन समेत हो ।
गण्डकी प्रदेश बाट टिम गेममा प्याराग्लाइडिङ स्वर्ण पदक जित्ने खेलमा रहेको छ । २०१८ मा इन्डोनेशियामा सम्पन्न १८ औं एशियाली खेलकुदमा काश्य पदक जित्ने गण्डकी प्रदेशकै खेलाडीहरु हुन । यो खेल गण्डकी प्रदेशकै राजधानी पोखरामा हुँदैछ ।
त्यसै गरि इन्डिभिजुअल खेल तर्फ फुल कन्ट्याक्ट कराते, बक्सिङ, सुटिङ, आर्चरी, तेक्वान्दो, ट्रायथोलन साईक्लिङ, शारिरिक सुगठन स्वर्ण पदकको सम्भावित खेलमा रहेका छन ।
गण्डकी प्रदेशका केही चर्चित खेलाडी
आठौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउनेमा केही अन्तर्राष्ट्रिय पदक बिजेता तथा चर्चित खेलाडीहरु समेत पदककका लागि भिड्दैछन । जस मध्ये प्याराग्लाइडिङमा २०१८ मा १८ औं एशियाडमा रजत पदक जित्ने खेलाडी नेपाली टिमका टिम कप्तान विमल अधिकारी लगाएत यूवा खेलाडी यूकेश गुरुङ पनि पदकका लागि भिड्दैछन । यूकेश १८ औं एशियाडमा सहभागी नेपाली खेलाडीमा कान्छा खेलाडी थिए ।
भलिबलकी मञ्जु गुरुङ र अरुणा शाही पनि चर्चित महिला खेलाडी मध्येका हुन । उनीहरु दुबै जना आफ्नो खेल मार्फत आठौं खेलकुदमा धैरेको ध्यान खिच्ने छन । नेपाल बाट सागमा प्रतिनिधित्व गरेका दुबै खेलाडीको खेल कौशल निकै आर्कषक छ भने टिमलाई जितको बाटोमा अग्रसर गराउने क्षमता समेत राख्छन ।
करातेकी विमला नेपाली टिम कातामा आफ्नो खेल मार्फत आफ्नो कला पस्कने छिन । उनी इन्डिभिजुअल खेलमा सम्भावित पदक हात पार्ने सम्भावित खेलाडी मध्येकी एक हुन । व्याडमिन्टनकी पूनम गुरुङले व्याडमिन्टनमा गण्डकी प्रदेश बाट आफ्नो खेल कौशल देखाउनेछिन । फूल कन्टुयाक्टका रुपक नेपाली र महिला खेलाडी शुष्मी श्रेष्ठको खेलले सबै खेलप्रेमीको ध्यान आकृष्ट गर्नेछ । उनीहरु दुबैजना गण्डकी प्रदेश बाट स्वर्ण पदक जित्ने तयारीमा जुटिरहेका छन । शुष्मिले हालै मात्रै अन्तर्राष्ट्रिय खेलमा नेपालका लागि पदक जितेकी समेत छन ।
आर्चरीका अशिम शेरचन सागमा पदकधारी खेलाडी हुन । उनी आठौं खेलकुदमा पदकका लागि तयारीमा जुटिरहेका छन । सागमा खेली सकेका अमृत गुरुङ र महिला रश्मि दर्लामी पनि आठौं खेलुकदमा नेपालगञ्जमा पदकका लागि भिड्दैछन ।
ह्याण्डबलका बिशाल बस्नेतको आर्कषक खेलले सबैको ध्यान खिच्नेमात्र नभई ह्याण्डबलमा पदक दिलाउनका लागि टिमलाई हौसला दिन पनि उनी उत्तिकै माहिर छन । उनी सागका लागि खेलिसकेका छन । ह्याण्डबलमा साग खेली सकेका प्रेम बहादुर गुरुङ, भासु गुरुङ, शरण थापा, विशाल नेपाली सबै गण्डकी प्रदेशको टिममा छन । उनीहरुले १२ औं साग खेलिसकेका छन ।
सुटिङका केबी राना मगर एशियन र साग खेलमा सहभागिता जनाउने मध्येका एक हुन । उनले गण्डकी प्रदेशका लागि पदक पहिरिने तयारी गरिरहेका छन । स्क्वाशका नेपाल च्याम्पियन अमृत थापा र महिला खेलाडी कृष्णा थापा पनि सम्भावित पदक हासिल गर्ने मध्येका खेलाडी हुन । उनीहरु दाजु बहिनी समेत हुन ।
