
काठमाण्डौ, २८ फागुन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सुनसरीको इनरुवा नगरपालिको सहकार्यमा इनरुवा नगरपालिको वार्ड नं. ८ मा खेलग्राम बन्ने भएको छ ।
राखेपका सदस्य–सचिव केशवकुमार विष्टले मंगलबार खेलग्रामको एक कार्यक्रमबीच शिलान्यास गरे । करिब १५ विघा जग्गमा बन्ने खेलग्राममा क्रिकेट, फुटबल, कभर्डहल, पौडी पोखरीलगायतका पूर्वाधार बनाइने छ । कुल लागतको ७० प्रतिशत राखेप र बाँकी ३० प्रतिशत इनरुवा नगरपालिकाको लगानी रहने छ ।
डण्डीबियो भोलिदेखि
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा तेश्रो माध्यमिक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र धादिङका २० टिमको सहभागिता रहने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् ।
नेपाल डण्डीबियो संघको समन्वयमा हुने प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १५ हजार र तेश्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका खेलहरुले त्रिपुरेश्वरस्थित राखेप हातामा हुनेछ । फाइनल शुक्रबार हुनेछ ।
वज्र फाइट भोलि
नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को आयोजनामा चौथो वज्र फाइट मंगलबार हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ ५ र महिलामा २ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले जनाएका छन् । प्रत्येक स्पर्धामा समान २–२ खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख रुपैयाँ रहेको छ । एकदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा हुनेछ ।
राहुल र पलिस्थाले विश्व च्याम्पियनसिपमा भिड्ने
थाइल्यान्डमा हुने १६ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । मार्च १२ देखि २० बैकंकमा नेपालका राहुल श्रेष्ठ र पलिस्था कक्षपतिले चुनौती प्रस्तुत गर्ने भएका हुन् ।

नेपाल राष्ट्रिय मुवाँथाई सघका अध्यक्ष गणेशलाल कक्षपतिको नेतृत्वमा उक्त च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा सहभागी हुने नेपाली चार सदस्यीय टोलीलाई मंगलबार एक कार्यक्रमकाबीच बिदाई गरिएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डमा दुई पटक नाम लेखाउन सफल दिनेश सुनारले बिदाई गरे । नेपाली टोली बुधबार बैकंकतर्पm प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
च्याम्पियनसिपमा राहुलले ५७ केजीमुनि सेमि प्रोफेसनल र पलिस्थाले ३५ केजीमुनि एमेच्योरमा प्रतिस्पर्धा गर्ने मुख्य प्रशिक्षक समेत रहेका कक्षपतिले जानकारी दिए । टोलीको सहायक प्रशिक्षकमा उत्तम गुरुङ छन् । राहुलले अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा तीन स्वर्ण जितेका छन् भने पलिस्थाले दुई स्वर्ण पदक प्राप्त गरिसकेकी छन् ।
