पोखरामा दोश्रो माछापुच्छरे क्रिकेट लिग शुरु, लेखनाथ मस्किटर्स बिजयी

पोखरा, १४ फागुन ।
माछापुच्छ्रे क्रिकेट क्लवको आयोजनामा मंगलबारदेखि पोखरामा दोश्रो माछापुच्छरे क्रिकेट लिग शुरु भएको छ ।

गण्डकी प्रदेश सरकारका मुख्य सचिव लक्ष्मीराम पौडेलले ब्याटिङ्ग तथा गण्डकी प्रदेशका उप–सचिव डिल्लीराम सिग्देलले बलिङ्ग गर्दै प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिता उद्घाटन गर्दै मुख्य सचिव पौडेलले नेपालमा क्रिकेट खेलले छोटो समयमै लोकप्रियता हाँसिल गरेको बताए ।

यस खेलमा बढेको लोकप्रियतासंगै राष्ट्रले पनि यो खेलमा सफलता प्राप्त गर्दै गएको पौडेलको भनाई थियो । खेलकुद र अनुशासन एकअर्काका पुरक भएको बताउँदै प्रतियोगितामा सहभागि खेलाडीहरुलाई अनुशासित पूर्वक आफ्नों खेल कौशल प्रस्तुत गर्न पनि उनले आग्रह गरे ।

नदीपुरस्थित प्रदेश सभा भवन पछाडीको क्रिकेट मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा लेखनाथ मस्किटर्सले आ.के.भिक्टोरियन्सलाई १० रनले पराजित गरेको छ । पहिला ब्याटिङ्ग गरेको लेखनाथले पुरा २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३६ रनको योगफल तयार पारेको थियो । उसका लागि आस्विनी रानाले सर्वाधिक ७६ रनको योगदान दिए । बलिङ्गतर्फ १ विकेट समेत हाता पारेका राना म्यान अफ द म्याच भए ।

आ.के.भिक्टोरियन्सका तर्फबाट सचिन अधिकारीले सर्वाधिक ४५ रन बनाए । भिक्टोरियनका खालिकले टिमका लागि २ विकेट लिए । जितसंगै लेखनाथले २ अंकका साथ लिगमा खाता खोलेको छ । प्रतियोगितामा बुधबार बिहान लेखनाथ र राइजिङ्ग लायन्सविच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा आर.के.भिक्टोरियन्स, सि.एन.डी. वारियर्स, पर्वन टाइटान्स, फिस्टेल स्टार्स, लेखनाथ मस्किटर्स र राइजिङ्ग लायन्स उपाधीका लागि एकआपसमा भिड्नेछन् । यसपटकको च्याम्पियन टिमले नगद ३ लाख तथा उप–विजेताले नगद १ लाख ५० हजार सहित शिल्ड मेडल पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरि उत्कृष्ट खेलाडी, बलर,ब्याट्स्म्यान लगायतले स्काई स्पोर्टसको प्याकेज प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close