
पोखरा, १३ फागुन ।
अनिल गुरुङको ह्याट्रिकसँगै पाहुना टोली युनाइटेड सिक्किममाथि गोल वर्षा गराउँदै ललितपुरको थ्रीस्टारले सेमीफाइनल यात्रा तय गरेको छ ।
पोखरामा जारी यस संस्करणको आहा रारा गोल्डकप अन्तरगत सोमबार भएको प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा थ्रीस्टारले सिक्किमलाई ५–२ को गोल वर्षा गरायो ।
थ्रीस्टारको जितमा अनिल गुरुङले ८५ औं मिनेटमा ह्याट्रिक पूरा गरे । २६ औं मिनेटमा पेनाल्टीबाट टोलीका लागि गोलको खाता खोलेको अनिलले ८५ औं मिनेटमा टोलीका लागि पाँचौ गोल र व्यक्तिगत ह्याट्रिक पूरा गरे । यसअघि, अनिलले ८१ औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरेका थिए ।
थ्रिस्टारको जितमा अजयी मार्टिन्सले एक गोलको योगदान गरे भने सिक्किमबाट एक आत्मघाती गोलको उपहार पायो । मार्टिन्सले टोलीका लागि ७० औं मिनेटमा गोल गरे । ५१ मिनेटमा थ्रीस्टारका लागि सिक्किमको तर्फबाट आत्मघाती गोलको उपहार मिल्यो । सिक्किमका जिग्मी दोर्जी भुटियाले आत्मघाती गोल गरेका थिए ।
बलियो थ्रीस्टारसामु खरो प्रतिष्पर्धामा उत्रिएको पाहुना टोली युनाइटेडको तर्फबाट भने निर्धारित समयको अन्त्यतिर दुई गोल फर्काएको थियो । युनाइटेड सिक्किमको तर्फबाट ८९ औं मिनेटमा सोनाम छिरिङ र ९० मिनेटमा ओङ छिरिङ लेप्चेले पेनाल्टीमार्फत गोल गरेका थिए ।
मंगलबारको अन्तिम क्वाटर फाइनल खेल नेपाल पुलिस र विदेशी टोली डफिन्स फेमिली क्लब क्यामरुनका बिच हुनेभएको छ
