
पोखरा, ५ फागुन ।
नेप्लिज इनकाउण्टर्स विद्यालयस्तरीय टी–२० को उपाधि टप्स माविले जितेको छ । आईतबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाईनल खेलमा प्रतिभालाई १७ रनले पराजित गर्दै टप्स माविले उपाधि जित्न सफल भएको हो ।
टप्सका मेखबहादुर सेनले नटआउट ८८ रन हिर्काउँदै २० ओभरमा ११० रनको स्कोर तयार पारेको थियो । उनले ६६ बल खेल्ने क्रममा आठ चौका र ३ छक्का हिर्काएका थिए । उनी बाहेक अन्य व्याट्सम्यानले भने दोहोरो अंकको स्कोर बनाउन चुके । अन्जन केसीले ३ विकेट लिए भने रोशन न्यौपानले २ विकेट लिन सफल भए ।
१११ रनको लक्ष्य प्रछ्याएको प्रतिभाले ९ विकेटको क्षतिमा पुरै ओभर खेल्दै केवल ९३ रन मात्रै बनायो । जगदिश घिमिरेले १६ रन, सविन पराजुलीले ११ र सफल केसीले १० रन मात्रै जोडे । बलिङ तर्फ टप्सका कप्तान समेत रहेको यु–१६ का पुर्व राष्ट्रिय खेलाडी मेखबहादुर सेनले, आशोक मगर र सुजन गुरुङले २/२ विकेट लिएका थिए । फाईनल खेलको जे ४ स्पोर्टस म्यान अफ दि म्याच भने मेखबहादुर सेन भएको स्कोरेर आशिष बरालले जानकारी गराए ।
कास्की जिल्ला क्रिकेट संघको आयोजना, नेप्लिज इनकाउण्टर्स एजुकेशन प्रालिको मुख्य प्रायोजन, जे४ स्पोर्टसको सहप्रायोजन तथा ह्वाई वरी इभेण्ट म्यानेजमेन्ट प्रालिको व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको विजेताले २५ र उपविजेताले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अवधीभर १८१ रन बनाएका ५ विकेटम्यान लिएका मेखबहादर सेन अफ दि सिरिज घोषित भए । प्रतिभाका जगदिश घिमिरे बेष्ट व्याट्सम्यान (९७ रन) घोषित हुदाँ हिमालयन बोर्डिङका अमन श्रेष्ठ बेष्ट बलर (१० विकेट) घोषित भए । ह्वाई वरी इभेण्ट म्यानेजमेन्टले प्रायोजन गरेको इर्मजिङ प्लेयरको पुरस्कार भने हिमालयनका आदित्य थापाले पाए ।
प्रतियोगितामा विजेता तथा उपविजेता विद्यालयका खेलाडीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख(मेयर) मानबहादुर जिसी, मुख्य प्रायोजक नेप्लिज इनकाउण्टर्स एजुकेशन प्रालिका प्रबन्ध निर्देशक नारायण पहारी, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, ह्वाईवरी इभेण्ट म्यानेजमेन्ट प्रालिका अध्यक्ष भगवान श्रेष्ठ, निर्देशक विधान श्रेष्ठ, प्रतियोगिता संयोजक भोज बराल, ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत, खेलकुद पत्रकार मञ्च कास्कीका पुर्व अध्यक्ष विनोद लामिछाने लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा सहभागि १२ विद्यालयलाई समेत क्रिकेट व्याट प्रदान गरिएको थियो ।
