
पोखरा स्पोर्ट्स । पोखरा अब केवल पर्यटनको शहर मात्र होइन, साहसिक खेलकुदको गतिविधिका लागि पनि उदीयमान केन्द्र बन्दै गएको छ । यहाँ विभिन्न समयमा आयोजना हुने विभिन्न सहाशिक खेलकुद प्रतियोगिताहरुले समेत त्यसलाई प्रमाणित समेत गरेका छन् ।
पोखरा भ्रमण वर्ष २०२५-०२६ चलिरहेको समयमा पर्यटकलाई पोखरामा थप दिन बस्न प्रेरित गर्ने उद्देश्यले पोखरा आसपासका क्षेत्रहरूमा नयाँ–नयाँ पर्यटकीय सम्भावनाको खोजी तिब्र रूपमा भइरहेको छ । यसै क्रममा पोखरा भ्रमण वर्ष समितिले शनिबार कालीगण्डकी नदीमा एक दिने ‘ह्वाइट वाटर र्याफ्टिङ’ सञ्चालनको सम्भाव्यता अध्ययन गरेको छ ।
पोखरा महानगर–बजार व्यवस्थापन केन्द्र, पर्यटन व्यवसायी, पत्रकार तथा पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी बहादुर भट्टराईसहितको टोली बेनी पुगेर कालीगण्डकीमा र्याफ्टिङ अध्ययनमा सहभागी भएको हो । पोखराबाट बेनीसम्मको दूरी करिब एक घण्टामा पुग्न सकिने भएकाले यो क्षेत्र सहज पहुँचमा रहेको छ । पहाड, धार्मिक स्थल, ऐतिहासिक सम्पदा र प्राकृतिक सुन्दरताले घेरिएको कालीगण्डकी नदीलाई व्यवस्थित प्रवर्धन गर्न सके पोखरामा आउने पर्यटकको बसाई लम्ब्याउन सकिने पर्यटनविद्हरूको विश्वास छ ।
कालीगण्डकी नदी तीन जिल्लाहरू पर्वत, बागलुङ र म्याग्दीलाई जोड्ने महत्वपूर्ण प्राकृतिक स्रोत हो । धार्मिक तथा ऐतिहासिक रूपमा पनि यो नदीको छुट्टै महत्व छ । यसलाई साहसिक खेलकुदसँग जोडेर पर्यटन विकास गर्न सकिएको खण्डमा यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक प्रभाव अत्यन्त सकारात्मक हुने संयोजक भट्टराईको भनाई छ । र्याफ्टिङ, क्याम्पिङ, ग्रामीण पर्यटन, होमस्टे, स्थानीय खाद्य संस्कृति र धार्मिक भ्रमण एकैपटक समेटेर ‘मल्टिडेस्टिनेसन टूर’ बनाउन सकिने भएकाले यसको महत्व झनै बढेको उनी बताउँछन् ।
पोखरा भ्रमण वर्ष २०२५ का संयोजक भट्टराईका अनुसार पोखरामा आउने अधिकांश विदेशी तथा आन्तरिक पर्यटक साहसिक गतिविधि रोज्ने गर्छन् । “पोखरामा प्याराग्लाइडिङ, जिप-फ्लायर, अल्ट्रालाइट जस्ता गतिविधि आफैंमा विशेष छन् । तर एक घण्टाको दूरीमै विश्वस्तरको ह्वाइट वाटर र्याफ्टिङ थप्न सकियो भने कम्तिमा तीन दिनसम्म पर्यटकलाई यहाँ रोक्न सकिन्छ,” उनले बताए । उनका अनुसार कालीगण्डकीको प्रवाह, संरचना र जोखिम व्यवस्थापन हेर्दा यहाँको र्याफ्टिङ सुरक्षित र रोमाञ्चक दुवै हुने देखिन्छ ।
“हामी सेती, कालीगण्डकीसहित आधा दर्जन नदीहरु छन्” उनले भने–“तर धेरै नदीहरुको दोहोन भएको छ । राज्यको ध्यान पुग्न सकेको छैन, हामी स–सना कृयाकलापले पनी पर्यटको आकर्षण बढाउन सक्छौं भने उनीहरुको बसाई लम्ब्याउन सक्छौं ।”
पर्यटन व्यवसायी एवं पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पाहारीको भनाई पोखरा विश्वमै ‘एडभेन्चर हब’ बन्ने क्षमता बोकेको शहर हो । तर शहरभित्रको गतिविधिमात्र पर्याप्त नहुने उनको भनाई छ । छिमेकी जिल्लामा फैलिएको यस्तो सम्भावनालाई जोडेर क्षेत्रगत पर्यटन प्रवाह बढाउन सकिने जनाउँदै उनले कालीगण्डकीमा एक दिने र्याफ्टिङ प्याकेज सुरुआतमा राखेर पछि दुईदेखि तीन दिने ‘राफ्टिङ–ट्रेक–क्याम्पिङ’ प्याकेज विकास गर्न सके यसले पर्यटनको विकासमा अर्को महत्व थपिने बताए ।
ह्वाइट वाटर र्याफ्टिङको विकासले स्थानीय समुदायलाई प्रत्यक्ष रोजगारी, होटेल व्यवसाय, यातायात, गाइड, क्याम्पिङ सेवा, र स्थानीय उत्पादनको बजार विस्तार जस्ता अवसर बढाउने बताउँछन नेपाल र्याफटिङ एण्ड क्यानोनिङ संघका अध्यक्ष विरेन्द्र लामा । धार्मिक गन्तव्य ‘कालीगण्डकी’सँग जोडिएको ‘साहसिक पर्यटन’ नयाँ ब्रान्ड बन्न सक्ने र यहाँ मध्यम प्रकारको सहाशिक खेलकुद गन्तब्यको रुपमा विकास गर्न सकिने उनले बताए ।
पोखरा–बेनी सडक सुगम बन्दै गएको, पर्यटकको पहुँच सहज भएको र प्राकृतिक वातावरण अझै संरक्षित रहेको अवस्थामा यो परियोजना अत्यन्त सम्भावनायुक्त मानिएको छ । आगामी दिनमा विस्तृत अध्ययन, सुरक्षा पूर्वाधार, तालिमप्राप्त गाइड तथा स्थानीय सहकार्य जुटाएर कालीगण्डकीलाई राष्ट्रियअन्तर्राष्ट्रिय स्तरको र्याफ्टिङ गन्तव्य बनाउन यो अध्ययन प्रभावकारी हुने पोखरा महानगर पालिका वडा नं १७ की अध्यक्ष राधिका शाही योगीको भनाई छ ।