पोखरा रंगशालामा ‘मोबाइल फोहोर संकलन बक्स’

पोखरा स्पोर्ट्स । पोखरा रंगशालामा फोहोर व्यवस्थापनलाई थप सहज र सुव्यवस्थित बनाउन ‘मोबाइल फोहोर संकलन बक्स’ सञ्चालन गरिएको छ । पोखरा महानगरपालिका, कोइका र यूएनडिपीद्वारा सञ्चालित संयुक्त परियोजनाले उपलब्ध गराएको यो बक्सबारे जिल्ला खेलकुद विकास समिति कास्कीले पोखरा स्पोर्ट्सलाई जानकारी गराएको हो ।

समितिका अध्यक्ष मिलन गुरूङका अनुसार हाल उपलब्ध बक्ससहित चार थान थप बक्स पनि छिट्टै उपलब्ध हुने छन् । चक्का जडान गरिएको भएकाले कुनै पनि प्रतियोगिता वा कार्यक्रम हुने स्थानमा सजिलै लैजान सकिने उनले बताए।

जिल्ला खेलकुद कार्यालयका प्रमुख डिबी नेपालीका अनुसार एकै बक्समा पानीका बोतल, कुहिने फोहोर, क्यान र प्लास्टिक गरी चार किसिमका फोहोर छुट्टाछुट्टै राख्न सकिन्छ। “संकलनबाट निकालेर फ्याँक्न समेत सजिलो हुने गरी यो बक्स डिजाइन गरिएको छ,” प्रमुख नेपालीले भने ।

यो बक्सको प्रयोगले पोखरा रंगशालालाई वातावरणमैत्री र प्लास्टिक रहित बनाउन महत्वपूर्ण योगदान पुग्ने अध्यक्ष गुरूङको भनाइ छ । “हामीले यो अभियान सुरू गरेका छौं । अब खेलाडी, प्रशिक्षकदेखि आगन्तुकसम्म सबैलाई आफ्नो फोहोर निर्धारित बक्समै फाल्न प्रेरित गर्नेछौं,” उनले बताए।

प्रमुख नेपालीका अनुसार इभेन्ट जहाँ हुन्छ, बक्स त्यहीँ पुर्‍याउन सकिने भएकाले यो अत्यन्त उपयोगी छ । “बाहिर फोहोर देखिने समस्या हट्छ, र सेन्टर कलेक्सन पनि झन् प्रभावकारी हुन्छ,” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close