
पोखरा स्पोर्ट्स । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई तीन महिनाका लागि निलम्बन गरेको छ ।
पटक-पटक दिएको निर्देशन पालना नगरेपछि राखेपले खेलकुद विकास नियमावली–२०७७ को दफा २९(२) बमोजिम कारबाही गर्दै एन्फा नेतृत्वलाई निलम्बनमा राखेको हो । एन्फाले राखेपको स्विकृती बेगर निर्वाचनको प्रक्रिया सुरु गरे पछि राखेप अन्ततः निलम्वनको निर्णयमा पुगेको जनाएको छ ।
युवा तथा खेलकुद मन्त्रालयको निर्देशन, राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र नियमावली २०७९ अनुसार, संघले आवश्यक कानुनी प्रक्रिया र राखेपका निर्देशनहरू पालना नगरेको निष्कर्षसहित चैत ११ गतेबाट लागू हुने गरी निलम्बन गरिएको उल्लेख छ ।
राखेपका अनुसार एन्फाले साधारण सभा बोलाउन अनुमति माग्दा आवश्यक कागजात, औचित्य र कानुनी आधार स्पष्ट नगरेको, पटक-पटक दिएको लिखित निर्देशन पालना नगरेर राष्ट्रिय ऐन र विधानको उल्लङ्घन गरेको, अन्तर्राष्ट्रिय निकायको निर्देशनलाई बढी प्राथमिकता दिँदै राष्ट्रिय कानुनको प्रधानतालाई कमजोर पार्ने मनसाय देखाएको, स्वीकृत विधान अनुसारको कार्य नदेखिएको र पेश गरिएको लिखित स्पष्टीकरण चित्तबुझेको नपाएपछि कारबाही गर्न बाध्य भएको राखेपले जनाएको छ ।
राखेपले एन्फा स्वायत्त संस्था भए पनि राष्ट्रिय कानुन र संघको स्वीकृत विधानभन्दा माथि हुन नसक्ने स्पष्ट गर्दै दिएको जवाफ कानुनी रूपमा अपूरो र असन्तोषजनक रहेको बताएको छ ।
राखेपको निर्णय अनुसार एन्फा आगामी तीन महिनासम्म निलम्बनमा रहनेछ । यस निलम्बनसँगै एन्फाको प्रशासनिक तथा व्यवस्थापकीय अधिकार अस्थायी रूपमा रोकिएको छ ।
यता प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले राखेप र प्रदेश खेलकुद परिषदको स्विकृती विना निर्वाचनमा सहभागि भए कार्वाही गर्ने चेतावनी दिएका छन् ।