पोखरा रंगशालामा शुक्रबार बाट प्रशिक्षण सूचारु हुने, जिल्ला प्रशासनले दियो अनुमती

खेलकुद संघहरुलाई प्रशिक्षणमा आउने खेलाडीको नाम पठाउन आग्रह

पोखरा स्पोर्टस । विश्व महामारी कोभिड १९ का कारण करिवतिन महिना अघि देखि रोकिएको खेलकुद प्रशिक्षण शुक्रवारबाट पोखरा रंगशालामा सूचारु हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले प्रशिक्षणका लागि अनुमती दिए संगै शुक्रबार बाट प्रशिक्षण सूचारु हुने भएको हो । जिल्ला खेलकुद विकास समिती कास्कीको पहलमा राष्ट्रिय खेलकुद परिषद (राखेप) र प्रदेश खेलकुद परिषद, गण्डकी र पोखरा महानगर खेलकुद विकास समितीको संयूक्त बैठकले प्रशिक्षण सूचारु गर्न तिन दिन अघि सम्पन्न बैठकले जिल्ला प्रशासन कार्यालय कास्कीलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय बारे जानकारी दिन आज जिल्ला प्रशासन कार्यालय कास्की पुगेको टोलीलाई प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले स्वास्थ्यका मापदण्ड अपनाई पोखरा रंगशालामा प्रशिक्षण सूचारु गर्न आग्रह गरेका थिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा सहभागीता जनाउने खेलाडी र नवौ राष्ट्रिय खेलकुदको तयारीका लागि प्रशिक्षण सूचारु गर्न प्रजिअ गौतमलाई आग्रह गरिएको जिल्ला खेलकुद कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“आज हामी जिल्ला प्रशासन कार्यालय पुगेका थियौं प्रजिअज्यूले कडाईका साथ नेपाल सरकारले लागु गरेका स्वास्थ्यका मापदण्ड अपनाएर मात्रै प्रशिक्षण सुरु गर्न भन्नुभएको छ ।”

प्रशिक्षणका लागि पोखरा रंगशालामा आउने खेलाडीहरुको नामावली खेल संघहरुलाई जिल्ला खेलकुदमा उपलव्ध गराउन अध्यक्ष बानियाँले आग्रह गरेका छन । “जुन जुन खेलकुद संघहरुले खेलाडीको नामावली उपलव्ध गराउँछ हामी ति खेलाडीलाई मात्रै प्रशिक्षणको अनुमती दिन्छौ” अध्यक्ष बनियाँले भने–“खेलाडीको नामावली एक प्रति हामी मुख्य गेटमा राख्नेछौं, त्यहाँबाट नामावली हेरेर मात्रै प्रवेशको अनुमती दिनेछौ ।”

पोखरा रंगशाला प्रवेश गरे पछि खेलाडीहरु आफ्नो प्रशिक्षण स्थल बाहेक अन्य स्थानमा घुमफिर भने गर्न नपाउने नियम बनाइएको अध्यक्ष बानियाँले बताए । उनले भने–“जुन खेलाडी जुन प्रशिक्षण स्थलको हो त्यहीं हुनु पर्छ, रंगशाला वरपर घुम्न पाइने छैन” उनले थपे–“रंगशाला प्रवेश गर्दा वा बाहिरिंदा मास्क अनिवार्य लगाएको हुनुपर्ने छ भने प्रशिक्षण स्थलको ढोकामा अनिवार्य रुपमा सेनिटाइजर राख्नुपर्ने हुन्छ ।”

कास्कीमा कोभिड १९ को संक्रमणको अवस्थामा कमी नआएको भन्दै जिल्ला प्रशासान कार्यालय कास्कीले साउन ५ गते सम्मका लागि खेलकुद लगायत अन्य स्थानमा निषेधाज्ञालाई जारी राखेको थियो । पोखरा रंगशाला भित्र प्रशिक्षणको व्यवस्था सूचारु हुने भए पनि रंगशाला बाहिर भने निषेधाज्ञा यथावत नै रहेको अध्यक्ष बानियाँले बताए ।

प्रमुख जिल्ला अधिकारी संग प्रशिक्षणलाई सूचारु गर्ने विषयमा भएको छलफलमा प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य दिल बहादुर गुरुङ समेत सहभागी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close