गण्डकी भलिबल विकासका सारथी एवं सल्लाहकारहरु सम्मानित

पोखरा स्पोर्ट्स । गण्डकी प्रदेश भलिबल संघले आफ्ना सल्लाहकारहरूलाई एक विशेष समारोहका बीच आइतबार सम्मान गरेको छ । विदेशमा रहेर पनि गण्डकीको भलिबल खेलको विकासका लागि निरन्तर सहयोग, सहकार्य र समर्पण देखाएको कदरस्वरूप उनीहरूलाई सम्मान गरिएको हो ।

पोखरा रंगशालामा आयोजित कार्यक्रममा तनहुँ शुक्लागण्डकी–१२ का हाल बेलायत निवासी लेखबहादुर गुरुङ, स्याङ्जा विरुवा गाउँपालिका निवासी हाल अमेरिका बसोबास गर्दै आएका राजु केसी, पर्वत विहादी–१ बाच्छाका हाल बेलायत निवासी सुबिन गुरुङ तथा स्याङ्जा विरुवा–४ का मनप्रसाद गुरुङलाई सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्वहरूलाई नेपाल भलिबल संघका केन्द्रीय सल्लाहकार एवं टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्मा, संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ तथा प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान उपाध्यक्ष धोजकुमार गुरुङलगायतले दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए । सम्मानितहरु कर्मथलोबाट केही दिनका लागि जन्मथलोमा आएको अवसर पारेर सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै केन्द्रीय सल्लाहकार शर्माले गण्डकीको भलिबल विकासमा मात्र नभई टाइगर कप भलिबलको सफलतामा समेत सम्मानित व्यक्तित्वहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे । उनले भने, “उहाँहरूको योगदान अतुलनीय र प्रशंसनीय छ । विदेशमा रहेर पनि आफ्नो माटो र खेलप्रतिको माया झल्काउँदै आर्थिक, नैतिक तथा भौतिक सहयोग पुर्‍याउनु अत्यन्त प्रेरणादायी छ । जसका कारण हामीलाई भलिबल खेल विकासमा अझै मेहनत गर्ने प्रेरणा मिलेको छ भने गण्डकीको टिमलाई अझै शसक्त भएर खेल्न उर्जा थपिएको छ ।”

उनले यस्ता सम्मान कार्यक्रमले खेलकुदप्रेमीहरूलाई अझ उत्साहित बनाउने र भविष्यमा थप सहयोगको ढोका खोल्ने विश्वास समेत् व्यक्त गरे ।

कार्यक्रमकै अवसरमा नवलपुरमा सम्पन्न जिएम कप राष्ट्रिय भलिबल प्रतियोगितामा उपाधि जित्दै प्राप्त ट्रफी पनि संघलाई हस्तान्तरण गरिएको थियो ।

संघका कार्यबाहक अध्यक्ष राजेन्द्र जिशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विरेन्द्र केसी, कोषाध्यक्ष टुकबहादुर गुरुङ, गण्डकी टिमका मुख्य प्रशिक्षक रमेश केसी, जिल्ला खेलकुद कार्यालयका प्रमुख डिबी नेपालीलगायतको उपस्थिति रहेको थियो ।

समापनमा, कार्यक्रममा बोल्दै कार्यबाहक अध्यक्ष केसीले विदेशमा रहेर पनि आफ्नो माटो र खेलप्रतिको प्रेमलाई कर्ममा रूपान्तरण गर्ने यस्ता व्यक्तित्वहरू नै खेलकुदका वास्तविक नायक रहेको र उहाँहरुलाई सम्मान गर्न पाउनु गौरवको विषय रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close