
पोखरा स्पोर्ट्स । प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्ट गन्तव्यमध्ये एक मानिने पोखरा पछिल्लो केही वर्षदेखि नियामक नीतिका कारण अन्योलमा परेको थियो । विशेषगरी सराङकोटबाट हुने उडान बन्द भएपछि पर्यटन व्यवसायी, पाइलट र खेलाडीहरू सबै प्रभावित भएका थिए । तर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक देउ चन्द्रलाल कर्णको पछिल्लो अभिव्यक्तिले अब पुनः सराङकोटबाट प्याराग्लाइडिङ सुचारु हुने संकेत दिएको छ ।
नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजनामा चार वर्ष पछि पुनः सराङकोटबाट २१औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप आयोजना भयो । जुन उडान क्षेत्रबाट नेपाली मात्रै नभई विश्वका प्याराग्लाइडर्स पाइलटहरु उडान भर्न आतुर थिए । यो सम्भव बनाउने श्रेय नाका अध्यक्ष अनिल केसीसहित उनको टिमलाई जान्छ ।
प्याराग्लाइडिङका लागि प्राविधिक रुपमा हावाको चाप र गतीसँगै सुरक्षित अवतरण नै प्रमुख हो । करिव चार वर्षको अन्तरालमा नेपाल हवाई खेलकुद संस्थाले (ना)ले नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न गरेर प्याराग्लाइडिङ खेलको ढोका उघारेको छ । चार–चार वर्ष सम्म सोलो उडान नहुँदाको पिडामा रहेका पाइलटहरुलाई आफ्नो प्रतिभा देखाउने नयाँ अवसर समेत प्राप्त गरे । त्यसमा नेपाली पाइलटहरु मात्रै नभई विभिन्न देशबाट सहभागिहरुले त्यसलाई अझै पुष्टि समेत गरे । उनीहरुले भने–“विश्वमा सुरक्षित, आकर्षक र मनमोहक प्याराग्लाइडिङ गन्तब्य भनेको नै पोखरा हो । यसमा कसैको दुई मत छैन ।”
सराङकोट केवल एक टेकअफ प्वाइन्ट मात्र होइन, यो नेपालको हवाई खेलकुदको मुटु हो । यहाँको भौगोलिक बनावट, स्थिर हावाको बहाव, र सुरक्षित अवतरण क्षेत्रका कारण विश्वका अनुभवी पाइलटहरूले समेत यसलाई “प्राकृतिक रूपमा पूर्ण” गन्तव्यको रूपमा लिने गरेका छन् । फेवाताल माथि उड्दै हिमालको दृश्यसँगै अवतरण गर्ने अनुभव विश्वका थोरै स्थानमा मात्र सम्भव छ भने अर्कातर्फ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूका लागि सराङकोट नै सबैभन्दा उपयुक्त स्थल मानिन्छ । यहाँको हावाको दिशा र थर्मल कन्डिसनले प्रतिस्पर्धात्मक उडानका लागि आवश्यक सबै मापदण्ड पूरा गर्ने विज्ञहरु बताउँछन् ।
तर क्यानले आफ्नो आकाशलाई अझै सुरक्षित बनाउन यो पहल गरेको बताउँछन् महानिर्देशक देउ चन्द्रलाल कर्ण । उनी भन्छन–“यहाँहरुल सोचे जस्तो कहाँ हुन्छ र ? हामी उडान क्षेत्रमा हरेक गतिविधीलाई सुरक्षित र व्यवस्थित बनाउन लागि परेका छौं ।” उनले आफ्नो भनाई राख्दै भने–“हो केही कारणले हामीले सराङकोटबाट उडान बन्द गरेका थियौं । तर यसमा हामीले अझै अध्ययन गरी अघी बढाउन सक्छौं । यसमा यहाँहरुको धैर्यताको खाँचो छ ।” पोखरेलीहरुले माग गरेको विषयलाई क्यानले सँधै सहयोग र सहकार्य गरिरहेको जनाउँदै उनले प्याराग्लाइडिङका प्रतियोगिताहरु अब सुचारु गर्न क्यान सँधै सकरात्मक रहेको उल्लेख गरे ।
“अब ओलम्पिकमा नेपालको कुनै पदक सम्भव छ भने त्यो प्याराग्लाइडिङ खेलबाट नै सम्भव छ” महानिर्देशक कर्णले भने–“हामी त्यही सपनालाई साकार बनाउने गरी प्याराग्लाइडिङ खेललाई व्यवस्थित बनाउने गरी अघि बढाउँदै छौं ।” ओलम्पिकमा पदक यात्राको सपनालाई साकार बनाउन पनि सबैको सहकार्य आवश्यक रहने बताउँदै भने–“यदि यहाँहरु सराङकोट नै उडान क्षेत्र चाहिन्छ भने हामी त्यस बारे सोच्न सक्छौं ।”
उडान सम्वन्धी जटिलता फुकाउनु क्यानको पहिलो प्राथमिकतमा रहेको जनाउँदै महानिर्देशक कर्णले चार वर्ष अघि प्याराग्लाइडिङमा रहेको समस्या फुकाएको स्मरण समेत गरे । “आज नै चाहियो । अहिले नै चाहियो त्यो नभन्नुस । केही अन्तर्राष्ट्रिय जटिलता छन् । अहिले प्याराग्लाइडिङ खेल पुनः फर्किएको छ । यो हाम्रो लागि खुसीको अवसर समेत हो । यहाँहरुको सपना पुरा गर्न क्यान पुरा गर्नेतर्फ अघि बढ्नेछ”,- उनले भने ।
प्याराग्लाइडिङ व्यवसायीक र सोलो उडानका लागि सराङकोट पोखराको पर्यटन अर्थतन्त्रको मेरुदण्ड हो । पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पाहारीको भनाईमा प्याराग्लाइडिङले मात्रै पोखरामा वार्षिक करोडौं रुपैयाँ बराबरको आर्थिक गतिविधि सिर्जना गर्दै छ । त्यसमा व्यवसायीक उडान मात्रै नभई सोलो उडान समेत हो ।
सहाशिक खेलकुद प्याराग्लाइडिङका प्रतिस्पर्धा नहुँदा पोखराले मात्रै नभई देशले नै आर्थिक क्षती व्यहोर्नु परेको पाहारी बताउँछन् । नियमन निकाय क्यानले यो विषयमा विशेष ध्यान दिनुपर्ने भन्दै प्याराग्लाइडिङका वर्ल्डकप जस्ता प्रतियोगिता आयोजना गर्न सके पर्यटकको बसाई लम्ब्याउन सकिने र यसले पर्यटनको विकासमा थप टेवा पुग्ने बताए । उनले भने–“पर्यटन–पर्यटन भन्ने अनी मुहान नै थुन्ने काम भएको छ । अब नियमन निकाय गम्भिर हुनुपर्छ र सबै वाधा अड्चन फुकाउन पर्छ ।”
महानिर्देशक कर्णले पनि अब अध्ययन गरेर अगाडि बढ्ने संकेत दिँदै सराङकोटलाई पुनः सञ्चालनमा ल्याउने सम्भावना खुला राखेका छन् । यसले पर्यटन व्यवसायी, पाइलट र खेलाडीहरूमा नयाँ आशा जगाएको छ । पोखरालाई विश्वस्तरको एड्भेन्चर हबका रूपमा स्थापित गर्न सराङकोटबाट प्याराग्लाइडिङ पुनः सुचारु हुनु अपरिहार्य रहेको २१औं संस्करणको नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपले उजगार गरेको प्रतियोगिताका संयोजक सुनिल भट्टराईले बताए ।
यस्तै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले समेत पोखरालाई सहाशिक खेलकुदको हव बनाउने हो भने अब कुनै पनि बहानामा प्याराग्लाइडिङका प्रतियोगिताहरु रोक्न नहुने विषयमा जोड दिए । उनले भने–“नियमन निकायले यस बारे गम्भिर हुन आवश्यक छ । परिषदले के कस्तो सहकार्य गर्न सक्छ त्यस बारे हामी सहकार्य गर्न तयार छौं ।”
कोभिड होस वा महाभुकम्पको समय प्याराग्लाइडिङ मात्रै एक मात्र त्यस्तो ‘प्रडक्ट’ थियो जसले पर्यटन क्षेत्र चलायमान बनाउन मात्रै नभई पर्यटन ‘रिभाइभ’ भएको बताउँछन् पोखरा भ्रमण वर्षका संयोजक गोपी बहादुर भट्टराई । टेक्निकल रुपमा मिलाएर प्याराग्लाइडिङलाई पुनः सराङकोटबाट सुरूवात गर्न सुझाउँदै पर्यटन क्षेत्रलाई ‘इथिकल भ्यालु’मा रहँदै सञ्चालन गर्न समेत उनले जोड दिए । कानुनी झण्झञ्टिला तोड्दै प्याराग्लाइडिङ प्रतियोगिता अघि बढाउनु पर्ने उनको भनाई थियो ।
अन्ततः, सराङकोट केवल एक स्थल होइन—यो पोखराको पहिचान, साहसिक पर्यटनको आत्मा र नेपाली हवाई खेलकुदको भविष्य हो । अबको निर्णयले न केवल एक व्यवसाय, तर सम्पूर्ण क्षेत्रको भविष्य निर्धारण गर्नेछ ।
