लुम्बिनी म्याराथनमा आर्मीको बर्चश्व : विनोद र पूर्णलक्ष्मी बने लुम्बिनी पिस म्याराथनका विजेता

पोखरा स्पोर्ट्स । लुम्बिनीमा सम्पन्न चौथो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन २०२६ मा त्रिभुवन आर्मी क्लबका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै वर्चस्व कायम गरेका छन् । पुरुष म्याराथनतर्फ विनोद रोकायाले उपाधि जित्दा महिला हाफ म्याराथनमा पूर्णलक्ष्मी न्यौपाने विजेता बनेकी छन् ।

विनोदले २ घन्टा १७ मिनेट ५५ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हात पारे। उनका सहकर्मी सुशील कुमार शाही (२ः१८ः१६) दोस्रो र नरेन्द्र सिंह राउत (२ः१९ः५८) तेस्रो स्थानमा रहे । शीर्ष तीन स्थान आर्मीका खेलाडीले नै कब्जा गरे । प्रतियोगितामा चीनका वाङ चि चौथो र केन्याका जुलियस वाकोमे पाँचौँ स्थानमा रहे ।

पुरुष म्याराथनका विजेता विनोदले तीन लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्दा सुशीलले दुई लाख ५० हजार र नरेन्द्रले एक लाख ५० हजार रुपैयाँ पाए। शीर्ष दस धावकलाई समेत क्रमशः एक लाखदेखि पाँच हजार रुपैयाँसम्म पुरस्कार प्रदान गरिएको थियो ।

महिला हाफ म्याराथनमा पूर्णलक्ष्मीले १ घन्टा १७ मिनेट १० सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितिन् । उनले साविक विजेता सन्तोषी श्रेष्ठलाई पछि पार्दै पहिलो स्थान हासिल गरिन् । सन्तोषी (१ः१८ः४०) दोस्रो स्थानमा सीमित भइन् भने निशा सार्की (१ः१९ः१९) तेस्रो भइन् ।

यस स्पर्धामा पूर्णलक्ष्मीले एक लाख ५० हजार रुपैयाँ जितिन् भने सन्तोषीले एक लाख र निशाले ८० हजार रुपैयाँ प्राप्त गरिन् ।

अन्य विधातर्फ भेटरान्स ५ किलोमिटर दौडमा धर्म महर्जन पहिलो भए भने पुरुष ५ किलोमिटर खुल्लातर्फ नेपाल पुलिस क्लबका नागेश्वर अहिर विजेता बने । त्यस्तै, ५ किलोमिटर गल्र्स र ब्वाइजतर्फ क्रमशः दिपशिखा शाही र युवराज बुढाले पहिलो स्थान हासिल गरे ।

म्याराथनको अवसरमा तीन किलोमिटर वाकाथन समेत आयोजना गरिएको थियो । मुख्य म्याराथनतर्फ जम्मा पाँच देशका खेलाडीले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close