
पोखरा स्पोर्ट्स । नेपाल क्रिकेट संघ (क्यान) ले आठौं संस्करणको प्रधानमन्त्री कप (पीएम कप) आजदेखि शुरु हुदै छ । आज पहिलो दिन कोशी र मधेश प्रदेश जनकपुरमा खेल्ने छन् भने लुम्बिनी प्रदेश र कर्णाली प्रदेश पर्सामा खेल्ने तालिका रहेको छ ।
पीएमकप काठमाडौंका दुई मैदान तल्लो र माथिल्लो मुलपानी मैदान तथा जनकपुर र पर्सामा गरी ४ स्थानमा सञ्चालन हुने क्यानले जनाएको छ । यसअघि केहि खेल टियु क्रिकेट मैदानमा हुने भनेपनि क्यानले ति खेलहरु तल्लो मूलपानी मैदानमा सारिएको जानकारी दिएको छ । क्यानले प्रतियोगिता चैत ७ देखि २०८३ वैशाख ४ गतेसम्म हुनेगरि तालिका सार्बजनिक गरिसकेको छ ।
प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहनेछ । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिम रहेका छन् ।
‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गर्ने छन् ।
पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २-२ पटक जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ ।
एकदिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ ।
