पोखरा रंगशालामा सिसि क्यामेरा मर्मत र प्रतिस्थापन कार्य शुरू

पोखरा स्पोर्ट्स । पोखरा रंगशाला परिसरमा जडान गरिएका सिसी क्यामेराहरूको मर्मत एवं प्रतिस्थापन कार्य सुरु गरिएको छ । जिल्ला खेलकुद विकास समिति कास्कीले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन उक्त मर्मत अभियान अघि बढाएको हो ।

२०७९ सालमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका क्रममा करिब ४० लाख रुपैयाँ खर्चेर रंगशालामा सिसी क्यामेरा जडान गरिएको थियो । तर समयसँगै केही क्यामेराहरू बिग्रँदै जानुका साथै रंगशाला क्षेत्रमा सुरक्षा चुनौती बढ्न थालेपछि मर्मत कार्य अपरिहार्य बनेको समितिले जनाएको छ ।

जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङका अनुसार रंगशालाभित्र चोरीका घटना समेत देखिन थालेपछि क्यामेरा प्रणालीलाई पुनः सुदृढ गर्न थालिएको हो । “अहिले सुरक्षा चुनौती बढ्दो अवस्थामा छ। क्यामेरा मर्मत र पुनः जडान नगरी प्रभावकारी निगरानी सम्भव छैन, त्यसैले यो काम सुरु गरेका हौं,” उनले बताए ।

उनका अनुसार रंगशाला परिसरका बिजुलीका पोलहरूमा जडान गरिएका करिब ४० वटा क्यामेराहरूको प्राविधिक परीक्षणपछि आवश्यक मर्मत तथा प्रतिस्थापन गरिनेछ । सीमित बजेटमा काम अगाडि बढाइएको र बिग्रिएका क्यामेराहरूलाई प्राथमिकताका साथ मर्मत वा परिवर्तन गरिने उनले जानकारी दिए ।

यससँगै जिल्ला खेलकुद विकास समितिले पोखरा रंगशालालाई थप व्यवस्थित र आकर्षक बनाउने योजना समेत अघि सारेको छ । पार्क निर्माण, वृक्षारोपण अभियान, नियमित सरसफाइ तथा हरियाली प्रवर्द्धनका कार्यक्रमलाई पनि समान प्राथमिकतामा राखिएको छ ।

समितिले आगामी दिनमा रंगशालामा आधुनिक सुरक्षा प्रणाली थप गर्ने, डिजिटल निगरानी विस्तार गर्ने तथा खेलकुद गतिविधिलाई सुरक्षित र व्यवस्थित बनाउने दीर्घकालीन योजना समेत बनाइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close