विपन्नताबाट अन्तर्राष्ट्रिय टेनिसको उडान : गण्डकीका सुरेन्द्र र अभिषेक श्रीलंका जाँदै

पोखरा स्पोर्ट्स । सपना सधैं सुविधासँग मात्र जन्मिँदैन-कहिलेकाहीँ अभावकै कठोर जमिनबाट पनि उडान भर्छ । त्यस्तै प्रेरणादायी कथा बोकेर गण्डकीका दुई युवा खेलाडी सुरेन्द्र विक र अभिषेक विक अन्तर्राष्ट्रिय टेनिसको रंगमञ्चतर्फ अघि बढिरहेका छन् ।

श्रीलंकाको राजधानी कोलोम्बोमा आयोजना हुने १६ वर्षमुनिको प्री-क्वालिफाइङ डेभिस कप जुनियर २०२६ मा यी दुई खेलाडीले पहिलो पटक नेपाली झण्डा बोकेर अन्तर्राष्ट्रिय सहभागिता जनाउँदै छन् । प्रतियोगिता यही मार्च २३ देखि २८ सम्म सञ्चालन हुनेछ । अन्तर्राष्ट्रिय टेनिस महासंघद्वारा आयोजना हुने यो प्रतियोगिता जुनियर खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउने महत्वपूर्ण अवसर मात्र होइन, उनीहरूको करिअरको पहिलो सशक्त खुड्किलो पनि हो ।

तीन वर्षअघि मात्र र्याकेट समातेका उनीहरू गण्डकी प्रदेश टेनिस संघद्वारा सञ्चालित जुनियर टेनिस कार्यक्रममार्फत खेलमा प्रवेश गरेका हुन् । म्याग्दी जिल्लाको दुर्गम गाउँका विपन्न परिवारमा जन्मिएका सुरेन्द्र र अभिषेकको यात्रा सहज थिएन । आर्थिक अभाव र पारिवारिक समस्याका कारण उनका अभिभावक पोखराबाट गाउँ फर्किन बाध्य भए । भर्खरै टेनिसको र्याकेट समातेका उनीहरुको जिवनमा अध्याँरो छायो । तर, टेनिसप्रतिको मोहले उनीहरूलाई रोक्न सकेन । गाउँ पुगेको एक सातामै उनीहरू पुनः पोखरा फर्किए—टेनिस नछोड्ने अठोटका साथ । यही क्रममा गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थ उनीहरूको अभिभावक बनेर उभिए ।

कायस्थकै शब्दमा, “थोपा–थोपाबाट संकलन गर्दै सुरु भएको यो यात्रा ३५ जना खेलाडीबाट राष्ट्रिय छनोट पार गर्दै प्री–क्वालिफाइङ डेभिस कप जुनियरसम्म आइपुगेको हो ।” उनले खेलाडीहरूको निरन्तरता, कठोर मेहनत र टेनिसप्रतिको एकाग्रतालाई सफलताको मुख्य आधार मानेका छन् । जुनियर टेनिस र ग्रो टेनिस गरी यतीबेला ४६ जना १० देखि १६ वर्ष उमेर समुहका खेलाडीहरु दैनिक प्रशिक्षण समेत गण्डकी टेनिस संघले सञ्चालन गर्दै आएको छ ।

भर्खरै १४ वर्षको उमेरमा पाइला टेकेका यी दुई प्रतिभाशाली खेलाडी मैत्रय पाठशालामा कक्षा ८ मा अध्ययनरत छन् । जीवनकै पहिलो अन्तर्राष्ट्रिय यात्रा, त्यो पनि बोइङ जहाजमार्फत, उनीहरूका लागि केवल यात्रा होइन-सपनाको उडान हो ।

यसै अवसरमा गण्डकी प्रदेश टेनिस संघले शुक्रबार एक कार्यक्रमका बीच उनीहरूलाई बिदाइ गरेको छ । पहिलो पटक गलामा माला, हातमा बुके-यी सबै क्षण उनीहरूको जीवनका अविस्मरणीय अध्याय बनेका छन् ।  नेपाली ‘टप–८’ भित्र छनोट हुँदै उनीहरू श्रीलंकातर्फ प्रस्थान गरेका हुन् ।

बिदाइ कार्यक्रममा पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदारले खेलाडीबिनाको खेलकुदको कल्पना असम्भव रहेको उल्लेख गर्दै यस्ता प्रतिभालाई राज्य र समाजले साथ दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पोखरा महानगर वडा नं १५ का अध्यक्ष तोरण बानियाँ, कास्की टेनिसका अध्यक्ष राजकुमार गुरूङ, सल्लाहकाद्वय गोपी बहादुर भट्टराई र सुर्य भुजेल, गण्डकी टेनिसका उपाध्यक्ष लोक बहादुर गुरूङ, महासचिब नविन चालिसे लगायतले उनीहरुलाई विदाई गर्दै अनुशासित हुँदै खेलमा सहभागिता जनाउन आग्रह गर्दै उज्जवल भविष्यको कामना गरे ।

गण्डकी प्रदेश टेनिस संघको जुनियर टेनिस कार्यक्रमले केवल खेल सिकाउने माध्यम मात्र नभई सामाजिक रूपान्तरणको सशक्त उपकरणको रूपमा काम गरिरहेको अध्यक्ष कायस्थ बताउँछन् । विपन्न पृष्ठभूमिबाट आएका बालबालिकालाई संरचना, अनुशासन, अवसर र दीर्घकालीन मार्गदर्शन प्रदान गर्दै यस कार्यक्रमले उनीहरूको जीवनको दिशा नै परिवर्तन गरेको छ।

टेनिस जस्तो महँगो खेलमा पहुँच विस्तार गर्दै यस्ता कार्यक्रमहरूले सामाजिक समावेशिता र प्रतिभा पहिचानलाई मजबुत बनाएको बताउँदै अध्यक्ष कायस्थ भन्छन्–“यो अन्त्य होइन, सुरुआत मात्र हो ।”

वास्तवमा, सुरेन्द्र र अभिषेकको यो यात्रा नेपालमा खेलकुदमार्फत जीवन परिवर्तन सम्भव छ भन्ने ज्वलन्त उदाहरण बनेको छ । विपन्नताको अँध्यारो चिरेर अन्तर्राष्ट्रिय उज्यालोतर्फ अघि बढेका सुरेन्द्र र अभिषेकको यो यात्रा केवल उनीहरूको व्यक्तिगत सफलता मात्र होइन-पूरै गण्डकी र नेपालकै लागि यतीबेला गर्वको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close