
पोखरा स्पोर्ट्स । जारी राष्ट्रिय लिग २०८२ मा खेलिरहेका विदेशी खेलाडीहरु पर्यटकीय भिसामा रहेको उजुरी परेपछि अध्यागमन विभागले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई त्यस्ता खेलाडीलाई खेलमा संलग्न नगराउन निर्देशन दिएको छ ।
अध्यागमन नियमावली २०५१ को नियम २० मा विदेशीहरु जुन भिसामा नेपाल आएको त्यो बाहेक अन्य गर्न नपाउने भन्ने उल्लेख रहेको बताउदै विदेशी खेलाडीलाई कार्य सहमति र श्रम स्विकृति नभइ नखेलाउन विभागले निर्देशन दिएको हो ।
उजुरीका आधारमा निर्देशन दिदै विभागका निर्देशक टिकाराम ढकालले निरीक्षण सुरु गर्ने र कानुन विपरितका खेलाडी मैदानमा भेटिएको खण्डमा कारबाही हुने बताएका छन् ।
यसअघि पनि एन्फालाई राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यस विषयमा पत्र पठाइसकेको छ । राखेपमा पनि विदेशी खेलाडी श्रम स्विकृति बिना खेलिरहेको उजुरी परेको थियो ।
