‘वुमन इन स्पोर्ट्स कन्क्लेभ–२०२६’ सम्पन्न, महिला खेलकुद सशक्तीकरणमा जोड

पोखरा स्पोर्ट्स । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर अल नेपाल स्पोर्ट्स फाउन्डेसनले ‘वुमन इन स्पोर्ट्स कन्क्लेभ–२०२६’ आयोजना गरी सम्पन्न गरेको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलकुद निकाय, नेपाल ओलम्पिक कमिटी तथा खेल विज्ञहरूको सहभागिता रहेको थियो । कन्क्लेभमा नेपाली खेलकुदमा महिलाको उपलब्धि, चुनौती र सम्भावनाबारे गम्भीर छलफल गर्दै समावेशी तथा सशक्त खेल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको थियो ।

राजधानीमा आयोजित कार्यक्रममा खेलकुद क्षेत्रमा महिलाले सामना गरिरहेका अवरोध हटाउने, नेतृत्व विकास, लचिलोपन तथा खेलकुदमार्फत आर्थिक सशक्तीकरणका विषयमा विभिन्न वक्ताहरूले आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा बागमती प्रदेशकी युवा तथा खेलकुदमन्त्री उर्मिला नेपालले महिला खेलाडीको प्रतिभालाई राज्यले प्राथमिकता दिँदै आवश्यक नीति तथा कार्यक्रम अघि बढाइने बताइन् । उनले आगामी दिनमा फाउन्डेसनसँग सहकार्य गर्दै महिला खेलकुद प्रवर्द्धनमा थप पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले महिला नेतृत्व, आर्थिक सशक्तीकरण र खेलकुदबीचको सम्बन्धबारे चर्चा गर्दै खेलकुद पर्यटनको विकासमा निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको औंल्याइन् ।

राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी सदस्य सुवर्ण श्रेष्ठले राष्ट्रिय खेलकुदको समग्र विकासका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमले एकताको सन्देश प्रवाह गर्ने उल्लेख गरिन् ।

निर्मला फाउण्डेसनकी अध्यक्ष निर्मला भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूका लागि अनुकूलित खेलकुदको महत्वबारे प्रकाश पार्दै समावेशी खेल संरचना विकास गर्नुपर्नेमा जोड दिइन् । मोटरस्पोर्ट्स खेलाडी प्रज्ञा कँडेलले आफ्नो खेल यात्रा सुनाउँदै महिलाले निरन्तर मेहनत र साहसका साथ अघि बढेमा अन्तर्राष्ट्रिय स्तरमा समेत सफलता हासिल गर्न सकिने बताइन् ।

कार्यक्रमको मुख्य आकर्षण ‘बाधा हटाउँदै : खेलाडी यात्रा र लचिलोपन’ शीर्षकको प्यानल छलफल थियो । पहिलो सत्रमा राष्ट्रिय टोलीका खेलाडी दीपा शाही (फुटबल), पूजा महतो (क्रिकेट), सुमित्रा रेग्मी (भलिबल), ओलम्पियन सन्तोषी श्रेष्ठ (एथलेटिक्स) र कराते खेलाडी एरिका गुरुङले आफ्नो खेल यात्रा, चुनौती तथा सफलताका अनुभव साझा गरेका थिए । उनीहरूले सामाजिक धारणा, पारिवारिक दबाब र पूर्वाधार अभावजस्ता कठिनाइका बाबजुद निरन्तर अभ्यास र आत्मविश्वासले सफलता सम्भव भएको अनुभव सुनाए ।

प्यानलको दोस्रो सत्रमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी, तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी, महिला खेल विज्ञ सुलोचना सिजख्वा र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले नेपालमा महिला खेलकुदको विकास, नीति सुधार, प्रशिक्षण अवसर तथा खेल पूर्वाधार विस्तारका विषयमा आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद नीतिमा समयानुकूल सुधार गर्दै महिला खेलाडीलाई थप अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिए । उनले महिला खेलकुद प्रवर्द्धनका लागि फाउन्डेसनले गरेको पहल प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा नेपाल ओलम्पिक कमिटी र फाउन्डेसनबीच सहकार्य विस्तार हुने विश्वास व्यक्त गरे ।

त्यस्तै जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले स्थानीय तहबाटै खेलाडीलाई अवसर र प्लेटफर्म उपलब्ध गराउनुपर्नेमा जोड दिँदै स्थानीय, प्रदेश र संघीय सरकार, राष्ट्रिय खेलकुद परिषद् तथा ओलम्पिक कमिटीबीच समन्वय आवश्यक रहेको बताए ।

तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटीले नेपाली खेलकुद क्षेत्रमा महिलाले अझै विभिन्न चुनौती सामना गर्नुपरेको उल्लेख गर्दै महिला खेलाडी सशक्तीकरणका लागि स्थानीय सरकारका तर्फबाट आवश्यक पहल गरिने बताइन् । खेल विज्ञ सुलोचना सिजख्वाले धेरै महिला खेलाडीले परिवार र खेलकुद करियरबीच सन्तुलन कायम गर्न संघर्ष गर्नुपर्ने अवस्था रहेको औंल्याइन् ।

उपलब्ध तथ्यांकअनुसार नेपालमा संगठित खेलकुदमा महिलाहरूको सहभागिता करिब ८ प्रतिशत मात्र छ भने पुरुषको सहभागिता करिब २८ प्रतिशत पुगेको छ । यही असन्तुलनलाई कम गर्दै महिला खेलकुदको आवाज बलियो बनाउने उद्देश्यले उक्त कन्क्लेभ आयोजना गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close