पोखरामा यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप २०२६ हुने

पोखरा स्पोर्ट्स । पोखरामा यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप २०२६ आयोजना हुने भएको छ । नेपाल एथलेटिक्स संघको आयोजनामा तथा कास्की जिल्ला एथलेटिक्स संघको व्यवस्थापनमा उक्त प्रतियोगिता आगामी चैत २८ देखि ३० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने तय भएको हो ।

२०७९ सालमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदपछि पहिलो पटक नेपाल एथलेटिक्स संघले राजधानी बाहिर यस्तो स्तरको प्रतियोगिता आयोजना गर्न लागेको संघका उपाध्यक्ष गजबहादुर गुरुङले पोखरा स्पोर्ट्सलाई जानकारी दिएका छन् ।

प्रतियोगिता ट्र्याक र फिल्ड गरी दुई विधामा सञ्चालन हुनेछ । देशभरका सातै प्रदेशबाट उत्कृष्ट यू–२० खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा ट्र्याकतर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर र ३००० मिटर दौड समावेश गरिएको छ । साथै रिले अन्तर्गत ४×१०० मिटर र ४×४०० मिटर मिक्स्ड रिले पनि आयोजना गरिनेछ ।

फिल्ड इभेन्टतर्फ हाइजम्प, लङजम्प, सटपुट र ज्याभलिन थ्रो समावेश गरिएको छ ।

प्रतियोगिताका लागि प्रत्येक प्रदेशबाट १० पुरुष र १० महिला खेलाडी पठाउन अनुरोध गरिएको तथा टोलीमा एक प्रशिक्षक र एक व्यवस्थापक रहने व्यवस्था गरिएको संघले जनाएको छ ।

प्रतियोगितामा खेलाडी र प्रशिक्षकसहित करिब १६० जनाको सहभागिता रहने अनुमान गरिएको छ । कास्की जिल्ला एथलेटिक्स संघका सचिव सिद्धान्त अधिकारीका अनुसार प्रतियोगिताको तयारी सुरु भइसकेको छ । उनका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । विजेता खेलाडीहरूलाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा प्रत्येक खेलाडीले एक ट्र्याक र दुई फिल्ड वा दुई फिल्ड र एक ट्र्याक इभेन्टमा मात्र सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ ।

आयोजकका अनुसार यस प्रतियोगिताले देशभरका युवा एथलेटिक्स प्रतिभालाई पहिचान गर्न तथा भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close