अर्जुन कुमालको शतकिय पारीमा कास्की पीएम कपको फाइनलमा

पोखरा स्पोर्ट्स । अर्जुन कुमालको शतकिय पारीको मद्दतमा कास्कीले पीएम कप गण्डकी प्रदेश छनौट एकदिवसीय प्रतियोगिताको सेमीफाइनलमा तनहुँलाई १८७ रनले पराजित गर्दै उपाधि नजिक पुगेको छ।

प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी प्रतियोगिताको आइतबार सम्पन्न पहिलो सेमीफाइनमा टस जितेर पहिले ब्याटिङ रोजेको कास्कीले निर्धारित ४५ ओभरमा ६ विकेट गुमाएर २९५ रनको विशाल योगफल तयार गरेको थियो ।

कास्कीका लागि अर्जुन कुमालले ११८ बलमा १४ चौका र १ छक्काको मद्दतमा १०३ रनको शतकिय पारी खेले । मुस्कान थापाले ७७ बलमा ५९ रन बनाए भने सिब्रिन श्रेष्ठले ३२ बलमा ४३ रनको आक्रामक पारी खेले भने कप्तान विपिन खत्रीले ११ बलमा दुई छक्का प्रहार गर्दै २१ रन जोडे । त्यस्तै कृष्ण पौडेलले अन्त्यतिर ९ बलमा ३ छक्का सहित २६ रन जोड्दै टोलीको स्कोर बलियो बनाएका थिए ।

तनहुँका लागि रमेश शाह र बिरु बादलले समान २–२ विकेट लिए भने वंश क्षेत्री र समीर कंडेलले १–१ विकेट लिए ।

२९६ रनको लक्ष्य पछ्याएको तनहुँको टोली ३० ओभरमा १०८ रनमै अलआउट भयो । तनहुँका कप्तान समीर कंडेलले ७५ बलमा ६४ रन बनाउँदै संघर्ष गरे पनि अन्य ब्याट्सम्यान टिक्न सकेनन् । त्यस्तै देव राईले २५ रन बनाए पनि अन्य व्याटरहरुले दोेहोरो अंक छुन समेत सकेनन् ।

कास्कीका लागि बिपिन खत्री र बिश्वास पराजुलीले समान ३–३ विकेट लिए । कृष्ण पौडेलले २ विकेट लिए भने सुभाष भण्डारीले १ विकेट हात पारे ।

उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै शतकिय पारी खेलेका कास्कीका अर्जुन कुमाल प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिताअन्तर्गत भोली दोस्रो सेमीफाइनल खेल स्याङजा र नवलपुरका बीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close