
पोखरा स्पोर्ट्स । कास्की जिल्ला एथलेटिक्स संघको आयोजनामा दोस्रो पोखरा ओपन एथलेटिक्स मिट आगामी चैत्र २८ गतेदेखि ३० गतेसम्म आयोजना हुने भएको छ । प्रतियोगिता पोखरा रंगशालामा सञ्चालन गरिने आयोजकले जनाएको हो ।
संघका सचिव सिद्धान्त अधिकारीका अनुसार प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ भने हाल सम्म एक सय भन्दा बढि खेलाडीले आफ्नो नाम दर्ता गरिसकेका छन् । पोखरा स्पोर्ट्ससँगको कुराकानीमा उनले प्रतियोगितामा तीन विभागीय टोली तथा सातै प्रदेशका विभिन्न जिल्लाका खेलाडीहरू सहभागी हुने जानकारी दिए ।
प्रतियोगितामा ट्र्याक तथा फिल्ड दुवै इभेन्टमा प्रतिस्पर्धा हुनेछ । ट्र्याकतर्फ १००, २००, ४००, ८००, १५००, ३००० र ५००० मिटर दौड महिला तथा पुरुष दुवै विधामा आयोजना गरिनेछ । यसका साथै ४×१०० मिटर मिक्स रिले दौड पनि समावेश गरिएको छ ।
फिल्डतर्फ हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, साथै सटपुट, ज्याभलिन थ्रो र डिस्कस थ्रोका इभेन्टहरू सञ्चालन हुनेछन् । मिक्स रिले र ३ हजार मिटर यो वर्ष नयाँ थप गरिएका इभेन्ट हुन् ।
प्रत्येक इभेन्टमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः रु ५ हजार, रु ३ हजार र रु २ हजार नगद पुरस्कारका साथै मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
संघका कोषाध्यक्ष गोप बहादुर अधिकारीका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
पोखरामा आयोजना हुन लागेको यो ओपन एथलेटिक्स मिट क्षेत्रीय स्तरमा एथलेटिक्स विकासका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । करिब ३ सय खेलाडीको सहभागिताले प्रतियोगिताको प्रतिस्पर्धा स्तर उच्च रहने सचिव अधिकारीको भनाइ छ ।
नेपालमा प्रायः विभागीय टोलीहरूले एथलेटिक्समा प्रभुत्व जमाउँदै आएका छन् । तर यस प्रकारका ओपन प्रतियोगिताले जिल्लास्तरका खेलाडीलाई राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गर्ने अवसर प्रदान गर्ने सचिव अधिकारीको भनाइ छ । साथै सातै प्रदेशका खेलाडीको सहभागिताले प्रतिभा पहिचान र अनुभव आदानप्रदानमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पोखरामा निरन्तर रूपमा एथलेटिक्स प्रतियोगिता आयोजना हुनुले युवा खेलाडी उत्पादन, प्रशिक्षण वातावरण सुधार तथा राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने आधार बलियो बन्ने सचिव अधिकारीले बताए । उनले भने, “हामीले आधार तयार गर्ने हो । तर यसलाई सफल बनाउन प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् र पोखरा महानगरपालिकाले समेत सहकार्यको भूमिका खेल्नुपर्छ,” उनले गुनासो गर्दै थपे, “तर अहिलेसम्म हाम्रो आवाज सुनिदिने वातावरण बनेको छैन ।”