
पोखरा स्पोर्ट्स । प्रधानमन्त्री कप (पीएम कप) गण्डकी प्रदेश स्तरीय एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताअन्तर्गत पोखरा रंगशालामा जारी खेलमा तनहुँले प्रभावशाली प्रदर्शन गर्दै पर्वतलाई ९३ रनले पराजित गरेको छ । समूह ‘बी’ अन्तर्गत शनिबार भएको खेलमा जित निकाल्दै तनहुँले प्रतियोगितामा पहिलो सफलता हासिल गरेको हो ।
यसअघि पहिलो खेलमा स्याङ्जासँग पराजित भएको तनहुँले पुनरागमन गर्दै २ अंकसहित सेमीफाइनल यात्रा तय गरेको छ । तनहुँले समुह ‘ए’ को बलियो प्रतिस्पर्धी कास्कीसँग आफ्नो भेट पक्का गरेको छ । कास्की समुह ए मा ४ अंकका साथ अग्रस्थानमा रहेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको तनहुँले ३९.३ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनायो । तनहुँका लागि वंश क्षेत्रीले जिम्मेवारीपूर्ण इनिङ्स खेल्दै ८३ बलमा ५ चौकासहित ५० रन बनाए । रमेश शाहले २२ रन, प्रदीप यादवले १७ रन तथा कविन्द्र पण्डितले १२ रनको योगदान दिए ।
पर्वतका बलर विकास क्षेत्रीले किफायती बलिङ गर्दै ७ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिए । अभिषेक थापाले २ विकेट हात पार्दा पारस लमिछाने, बिनोद नेपाली, अक्लप श्रेष्ठ, रोशन गौतम र राजु थापाले समान १–१ विकेट लिए ।
१४८ रनको लक्ष्य पछ्याएको पर्वतको ब्याटिङ भने निकै कमजोर रह्यो । पर्वत १८.५ ओभरमै ५४ रनमा समेटियो । अभिषेक थापाले १२ रन बनाउँदै टिमका लागि सर्वाधिक स्कोर गरे भने पारस लमिछानेले १० रन जोडे । अन्य कुनै पनि खेलाडीले दोहोरो अंक पार गर्न सकेनन् ।
तनहुँका लागि मनीष गैरेले घातक बलिङ गर्दै ४.५ ओभरमा १३ रन खर्चिएर ५ विकेट लिए । दिनेश बुद्ध मगर र क्रिस ऐरले २–२ विकेट लिँदा प्रदीप यादवले १ विकेट लिए । उत्कृष्ट प्रदर्शनका लागि मनीष गैरे ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
तनहुँको जितमा बलिङ मुख्य हतियार बन्यो । १४७ रनको सामान्य लक्ष्यलाई पनि बलरहरूले कडा दबाब सिर्जना गर्दै सहज जितमा परिणत गरे । विशेषगरी मनीष गैरेको घातक स्पेलले पर्वतको ब्याटिङ लाइनअपलाई धराशायी बनायो । अब तनहुँका लागि कास्कीसँगको सेमीफाइनल खेल महत्वपूर्ण हुनेछ, जहाँ उसले यस्तै प्रदर्शन दोहोर्याउनुपर्ने देखिन्छ ।