पोखरामा ‘आरओजी सटडाउन सेरिज’ गेमिङ प्रतियोगिता हुदै

पोखरा स्पोर्ट्स । पोखराका गेमिङ पारखीलाई लक्षित गर्दै गेमिङ प्रतियोगिता आयोजना हुने भएको छ । ‘आरओजी सटडाउन सेरिज’ नामक विशेष प्रतियोगिता पोखराको जेनेक्स प्लाजामा यहि फागुन २८ गते बिहीबार आयोजना हुन लागेको हो ।

नागमणि प्रालि र आसुसको सहयोगमा हुन लागेको प्रतियोगितामा लोकप्रिय फुटबल भिडियो गेम इएएफसी २६ मा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । सहभागीबीच रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा गरिएको जेनेक्स अटोमेसनका सञ्चालक नवीन पौडेलले जानकारी दिएका छन् ।

प्रतियोगितामा पहिलो हुने खेलाडीले २० हजार रुपैयाँ र दोस्रो हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । गेमिङ क्षेत्रमा आफ्नो क्षमता देखाउन चाहने खेलाडीहरूलाई प्रतियोगितामा सहभागी हुन आयोजकले आग्रह गरेको छ । खेलाडीहरूले अनलाइनमार्फत नाम दर्ता गरी प्रतियोगितामा भाग लिन सक्नेछन् ।

जेनेक्स अटोमेसनका सञ्चालक पौडेलले नेपालमा बढ्दो ई–स्पोर्ट्स संस्कृति र युवामाझ लोकप्रिय बन्दै गएको गेमिङ गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने, “पोखरा र आसपासका युवालाई आधुनिक प्रविधि र गेमिङ प्लेटफर्मसँग जोड्ने लक्ष्यले हामीले यस कार्यक्रममा सहकार्य गरेका हौं ।”

जेनेक्सकी बिक्री प्रबन्धक इच्छा बस्नेतले काठमाडौंबाहिर पहिलोपटक पोखरामा यस प्रकारको प्रतियोगिता हुन लागेको बताउँदै खेलाडीहरूको उत्साहजनक सहभागिता हुने अपेक्षा व्यक्त गरिन् । पोखरा केन्द्रित जेनेक्स अटोमेसन सूचना प्रविधि, अटोमेसन तथा आधुनिक इलेक्ट्रोनिक्स उपकरण बिक्री तथा सेवा प्रदान गर्ने कम्पनी हो । कम्पनीले कम्प्युटर हार्डवेयर, गेमिङ उपकरण, स्मार्ट अटोमेसन प्रणाली, नेटवर्किङ समाधानलगायत प्रविधिसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

पोखरासहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा आईटी तथा इलेक्ट्रोनिक्स उत्पादनहरूको आपूर्ति र प्राविधिक सेवा उपलब्ध गराउँदै आएको कम्पनीले युवालाई डिजिटल सीप, गेमिङ र नयाँ प्रविधिसँग जोड्ने विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । प्रतियोगिताले पोखरामा गेमिङ खेलाडीहरुलाई अझ सक्रिय बनाउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close