
पोखरा स्पोर्ट्स । महिला फुटबलको व्यावसायिक विकास तथा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्थापना भएको आरएस पोखरा फुटबल क्लबले आफ्नो वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै आगामी कार्यक्रम सञ्चालनका लागि सहयोगको अपिल गरेको छ । क्लबले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो गतिविधि र आगामी योजना सार्वजनिक गरेको हो ।
क्लबका अनुसार चालु वर्ष टोली व्यवस्थापनलाई प्राथमिकतामा राख्दै दक्ष प्रशिक्षक, अफिसियल तथा व्यवस्थापकहरूको छनोट गरिएको छ । साथै खेलाडीहरूका लागि व्यवस्थित आवास, पौष्टिक खानपान तथा आवश्यक खेल सामग्री जस्तै जर्सी र ट्र्याकसुटको व्यवस्था गरिएको र खेलाडीहरूको स्वास्थ्य एवंम भविष्यलाई ध्यानमा राख्दै बीमा सेवा, नियमित तलब तथा भत्ताको समेत प्रबन्ध गरिएको क्लबले जनाएको छ ।
प्रतियोगितात्मक रूपमा पनि क्लबले राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा उल्लेखनीय उपस्थिति जनाएको छ । क्लबले एन्फा वुमेन्स लिग क्वालिफायर तथा एन्फा वुमेन्स च्याम्पियन प्रतियोगितामा सहभागिता जनाएको थियो। त्यस्तै झापा, चितवन, स्याङ्जा, विष्णुपादुका र बाघमारा महिला गोल्डकपमा समेत टोलीले राम्रो प्रदर्शन गरेको क्लबले जनाएको छ । क्लबकै आयोजनामा यू–१८ महिला गोल्डकप पनि सफलतापूर्वक सम्पन्न गरिएको जानकारी दिइएको छ ।
क्लबका अनुसार हालसम्म टोली सञ्चालन तथा विभिन्न गतिविधिका लागि करिब ३५ लाख रुपैयाँ खर्च भइसकेको छ । अहिले टोली नेपालका उत्कृष्ट १० महिला टिम सहभागी हुने राष्ट्रिय लिगको तयारीमा जुटिरहेको जनाउँदै उक्त लिगमा सहभागिता र व्यवस्थापनका लागि थप ३५ देखि ४० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको क्लबले जनाएको छ ।
यसै सन्दर्भमा क्लबले खेलप्रेमी, संघ–संस्था तथा शुभेच्छुकहरूसँग आर्थिक तथा नैतिक सहयोगका लागि अपिल गरेको छ । महिला फुटबललाई नयाँ उचाइमा पुर्याउने अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको क्लबको भनाइ छ ।
क्लबले पोखराको नाम फुटबल क्षेत्रमा अझ चम्काउने लक्ष्यका साथ खेलाडीहरूको मनोबल उच्च राख्दै निरन्तर प्रयास गरिरहेको समेत् जनाएको छ।
