
पोखरा स्पोर्टस । १५ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्डमा कृतिमान कायम गर्ने एथलेटिक्सकी नारायणी भण्डारी सवोत्कृष्ट खेलाडीको रुपमा सम्मानित भएकी छन् । प्रदेश खेलकुद परिषद गण्डकीले बुधबार एक कार्यक्रमको आयोजना गरी उनीसहित ९३ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक बिजेता खेलाडीहरुलाई सम्मान गरेको छ भने दुई खेल संघलाई समेत नगदसहित सम्मान गरेको छ ।

सर्वोत्कृष्ट खेलाडी घोषित नारायणीले २०८२ जेष्ठ २९ काठमाण्डौमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत छात्रा ८ सय मिटर दौड २ मिनेट १७.९ सेकेन्डमा तय गर्दै कीर्तिमान बनाएकी थिइन् । उनले २५ वर्ष अघि २०५७ सालमा टिका चौधरीको किर्तिमान तोडेकी थिइन् । त्यसै गरी सोही प्रतियोगितामा १५०० मिटर दौडमा स्वर्ण र रिले दौडमा रजत पदक हात पारेकी थिइन् । उनले सम्मान वापत नगद रु ४३ हजार प्राप्त गरेकी छन् ।
त्यसै गरी परिषदले वर्ष सर्वोत्कृष्ट खेल संघको रुपमा प्रादेशिक क्रिकेट संघलाई सम्मान गरेको छ भने प्रदेश हक्की संघ उत्कृष्ट खेल संघको रुपमा सम्मान गरेको छ । क्रिकेट संघलाई नगद रु १ लाख सहित सम्मान गर्दा हक्की संघलाई नगद रु ५० हजारसहित सम्मान पत्र प्रदान गरिएको छ ।
यसै गरी परिषदले आर्थिक वर्ष २०८१/०८२ मा राष्ट्रिय/अन्तर्राष्ट्रिय/जुनियर यू–१४/राष्ट्रपति रनिङ शिल्ड पदक बिजेताहरुलाई नगद सहित सम्मान गरेको छ भने उनीहरुले ति खेलहरुमा गरेको प्रदर्शनका आधारमा छात्रवृत्ति समेत प्रदान गरेको प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले जनाएका छन् ।
परिषदले वर्ष अन्तर्राष्ट्रिय १६ जना खेलाडीलाई (पदक प्राप्त) जनही नगद रु १७ हजारका दरले र सहभागिहरुले जनही नगद रु १० हजारका दरले नगद पुरस्कार वितरण गरेको छ ।
त्यसै गरी पदक प्राप्त गर्न सफल स्नातकतहमा अध्ययनरत ४ जनालाई जनही नगद रु २७ हजार, कक्षा ११÷१२ मा अध्ययनरतलाई जनही नगद रु २२ हजार र कक्षा १० सम्म अध्ययनरत जुनियर खेलाडी २१ जनालाई १७ हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ ।
त्यस्तै राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक बिजेताले नगद रु १७ हजार, रजत पदक बिजेतालाई नगद रु १५ हजार र काश्य पदक बिजेताले नगद रु १३ हजार नगद प्राप्त गरे ।
सम्मानित हुने खेलाडी तथा खेलसंघहरुलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरूङ, सदस्य सचिब श्रीधर शर्मा, परिषदका सदस्य विनय थापाले सम्मान गरेका थिए । सो अवसरमा बोल्दै उपाध्यक्ष गुरूङले प्रदेशको खेलकुद इतिहासमा यो कार्यक्रम नयाँ फड्को भएको उल्लेख गर्दै यो सम्मानले यूवा खेलाडी उत्पादनमा समेत भूमिका खेल्ने जनाए ।
कार्यक्रममा आफ्ना भनाई राख्दै सदस्य सचिब शर्माले खेलकुदमा न्यून बजेटकै कारण सोचे जस्तो गरी खेलकुद विकासको गति अघि बढ्न नसकेको बताए ।
कार्यक्रममा परिषदका सदस्य थापा, परिषदका नासु डिबी नेपालीले समेत आफ्ना भनाई राखेका थिए । परिषदले सो कार्यक्रम अन्तर्गत १८ लाख ५० हजार खर्च गरेको छ ।
सम्मानित वर्ष खेलाडी
-
विश्वास अधिकारी – भलिबल, रजत (माल्दिभ्स), नवलपुर – रु १२,०००
-
विजय महत्तो – सेपाक्ताक्रो, रजत (South Asian), नवलपुर – रु १२,०००
-
बादल कार्की – एथलेटिक्स, काँस्य (पाकिस्तान), कास्की – रु १२,०००
-
कुसुम गोदार – क्रिकेट, स्वर्ण (U-19 Women’s), स्याङ्जा – रु २२,०००
-
ज्योत्स्निका मरासिनी – क्रिकेट, स्वर्ण (U-19 Women’s), स्याङ्जा – रु २२,०००
-
सिमाना के.सी. – क्रिकेट, स्वर्ण (U-19 Women’s), स्याङ्जा – रु २२,०००
-
रचना चौधरी – क्रिकेट, स्वर्ण (U-19 Women’s), कास्की – रु २२,०००
-
सुवास भण्डारी – क्रिकेट, स्वर्ण (U-19 Men’s), कास्की – रु १२,०००
-
दिपक डुम्रे – क्रिकेट, स्वर्ण (U-19 Men’s), कास्की – रु १२,०००
-
अर्जुन कुमाल – क्रिकेट, स्वर्ण (U-19 Men’s), कास्की – रु १२,०००
-
सोयल कुँवर – क्रिकेट, स्वर्ण (U-19 Men’s), कास्की – रु २२,०००
-
सिब्रिन श्रेष्ठ – क्रिकेट, स्वर्ण (U-19 Men’s), कास्की – रु २२,०००
-
अपरिचित पौडेल – क्रिकेट, स्वर्ण (U-19 Men’s), नवलपुर – रु २२,०००
-
विशाल थापा मगर – कबड्डी, रजत (Bangabandhu Cup), बाग्लुङ – रु १२,०००
-
सुस्मिता थापा – तेक्वान्दो, बाग्लुङ – रु २७,०००
-
स्मृति गुरुङ – कराते, रजत (कोलम्बिया), गोर्खा – रु १२,०००
