
पोखरा स्पोर्ट्स । नवौं एशिया कप ट्रायथ्लन प्रतियोगिता आगामी चैत्र ७ र ८ गते पोखरामा आयोजना हुने भएको छ । नेपाल ट्रायथ्लन संघको आयोजनामा सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी सुरु भएको संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले पोखरा स्पोर्ट्सलाई जानकारी दिएका हुन् ।
नेपाल ट्रायथ्लन संघ गण्डकी प्रदेशको व्यवस्थापनमा सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन चैत्र ७ गते महिला र पुरुषतर्फ एशिया कप ट्रायथ्लनसँगै दक्षिण एशियाली ट्रायथ्लन प्रतियोगिता आयोजना गरिनेछ । त्यस्तै दोस्रो दिन चैत्र ८ गते सोही प्रतियोगिताअन्तर्गत दुआथलन प्रतिस्पर्धा सञ्चालन हुने अध्यक्ष श्रेष्ठले बताएका छन् ।
पोखरालाई केन्द्र बनाएर विगत ९ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगितामा नेपालसहित विभिन्न १० देशका ६० भन्दा बढी खेलाडीले सहभागिताका लागि नाम दर्ता गराइसकेका छन् । अझै खेलाडीहरूको संख्या बढ्ने अपेक्षा आयोजकले गरेको छ । प्रतियोगिता अन्तर्गत फेवातालमा ७५० मिटर पौडी हुनेछ भने २० किमि साइक्लिङ (बाइक) र ५ किमि दौड हुनेछ ।
हालसम्म नेपालसहित जापान, स्लोभाकिया, उज्वेकिस्तान, दक्षिण कोरिया, सिङ्गापुर, ओमान, इस्टोनिया र भारतका खेलाडीहरूको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा एशिया कपतर्फ महिला तथा पुरुषतर्फका प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान हासिल गर्ने खेलाडीले क्रमशः ६३०, ५२५, ४२९, ३१५ र २१० अमेरिकी डलर नगद पुरस्कारका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपालको खेलकुद पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । विशेषगरी प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरामा आयोजना हुने ट्रायथ्लनले विश्वभरका खेलाडी र खेलप्रेमीलाई आकर्षित गर्दै नेपालको पर्यटन र खेलकुद पूर्वाधारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने विश्वास गरिएको संघका बरिष्ठ उपाध्यक्ष दिपक कोइरालाले बताए ।
साथै यस्ता प्रतियोगिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने अवसर प्रदान गर्नुका साथै देशमा ट्रायथ्लन खेलको विकास र विस्तारमा पनि सकारात्मक प्रभाव पार्ने उनको भनाई थियो ।