‘अध्यक्षले राजिनामा दिनु पर्छ, सवै कुरा मिल्छ’– एन्फा उपाध्यक्ष थापा (भिडियो सहित)

पोखरा स्पोर्टस । नेपाली फुटबलहरुको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष कृष्ण थापाले एन्फा भित्रको अहिलेको विवाद टुङ्गायाउन अध्यक्ष कर्मा छिरिङ शेर्पाले अध्यक्ष पदबाट राजिनामा दिनुपर्ने बताएका छन ।

एन्फा टेक्निकल कमिटीका संयोजक समेत रहि सकेका थापाले अहिलेको विवाद निम्तिनुको प्रमुख कारक नै अध्यक्ष शेर्पा रहेको बताउँदै उनले राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन । कुनै बेला ‘चेन्ज एन्फा’को नारामा संगै अध्यक्ष शेर्पाको टिमबाट निर्वाचनमा होमिएका उपाध्यक्ष थापाले हरेक विवादको पछाडी अध्यक्ष शेर्पाकै हात रहेको पोखरा स्पोर्टस संगको कुराकानीमा खुलस्त पारेका छन ।

एन्फा भित्रका कुराहरु मिलाउन आफूले महत्वपूर्ण भूमिका खेलेको दावी गर्दै उपाध्यक्ष थापाले भने–“वरिष्ठ उपाध्यक्ष नेम्वाङ्ग ज्यूलाई समेतलाई उहाँले वैठकमा नै अभद्र व्यवहार गर्नु भएको छ । प्रकियाहरु मिच्नु भएको छ । हामीले विगतमा एन्फा भित्र भएका गल्तीको विरोधमा एकजुट भएर संगै निर्वाचनमा होमिएका थियौं । तर उहाँ आफैले विगतको प्रविती दोर्हाउनुभएको छ । उहाँ आफू सच्चिनु मान्नु भएको छैन ।” “अहिले प्रवक्ता समेतले राजिनामा दिएको अवस्था छ, प्रवक्ता नै नभएको एन्फा जस्तो संस्था कसरी अगाडी बढ्न सक्ला ?” उनले प्रश्न गर्दै भने–“मैले फुटबल विकासका लागि कर्माजीलाई साथ दिएकै हो, प्रशिक्षक अलमुताइरीलाई ल्याउन मैले नै सहयोग गरेको थिंए । तर प्रशिक्षकको गल्तीलाई समेत उहाँ उल्टै ढाक छोप गर्दै हुनुहुन्छ । अव टुलु–टुलु हेरेर बस्ने अवस्था छैन ।”

आर्थिक पारदर्शिता र विक्रेन्द्रिकरण एन्फाले लागु गर्नुपर्छ भन्ने मान्यतामा आफू हरु अगाडी बढ्न खोजेको बताउँदै उपाध्यक्ष थापाले त्यो कुरा २० प्रतिशत पनि लागु हुन नसकेको बताए । “पूर्व अध्यक्ष गणेश थापा विरुद्ध तिन वर्ष आन्दोलन गरेका थियौं । तर जे भनेर आन्दोलन गरेका थियौं र एउटै नारामा हामी अघि बढेका थियौं हाम्रो यो तिन वर्षे कार्यकाल मुल्याङ्कन गर्ने हो भने त्यो २० प्रतिशत पनि लागु हुन सकेन,” उपाध्यक्ष थापाले जोड दिंदै भने–“अध्यक्ष शेर्पा अहिले आफै हिलोमा मुछिएका छन, जुन हिलो पखाल्न उनलाई निकै महँगो पर्नेछ ।”

एन्फा अहिले कोठे निर्णयमा अघि बढेको बताउँदै उपाध्यक्ष थापाले एन्फा भित्र को कसले गल्ति गरेका छन त्यसलाई कार्वाही गर्नु पर्ने बताउँदै उनले यहि परिपाटी रहि रहे नेपाली फुटबलको विकास अघि बढ्न नसक्ने बताए । उनले भने–“गल्ति कसको छ त्यो छानविन गरौं प्रशिक्षकको छ वा पदाधिकारी वा सदस्यको यसमा रुमलिन आवश्यक छैन । अव नयाँ एजेण्डामा अघि बढ्नु पर्छ ।” नयाँ एजेण्डा भनेको नै नयाँ नेतृत्व हुन सक्ने वा सवैलाई समेटेर आर्थिक पारदर्शिता र विक्रेन्द्रिकरणको आधारमा अघि बढ्न सके बाँकी कार्यकाल मिलेर जान सक्ने सम्भावना समेत रहेको उनले बताए । एन्फा भनेको फुटबल खेलाडी, प्रशिक्षक, र रेफ्रि गरी तिन वटा समिश्रण रहेको हुनाले कुनै कुरामा पक्षपात नगरी गरी अघि बढेमा नेपाली फुटबलको भविष्य उज्ववल रहने कुरामा जोड दिए ।

एन्फा अध्यक्ष शेर्पाले वारम्वार वाइपास गरेकै कारण आफूले टेक्निकल कमिटी बाट राजिनामा दिएको बताउँदै उपाध्यक्ष थापाले भने–“पटक पटक अध्यक्षज्यूले कोठे सम्झौता गरी मलाई वाइपास गरी अरुलाई नै जिम्मेवारी दिनुभयो त्यसैले मैले राजिनामा दिनु पर्ने स्थिती आयो ।” “पटक पटक जिम्मवारी पनि दिने अनि छानी–छानी विशेष गरी तिनजना लाई वाइपास गर्ने ?” उनले प्रश्न गरे । एन्फा भित्र देखिएको विवाद मिलाउन मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदलाई गुर्हानु एन्फाको निरिहपन रहेको उनले जिकिर गरे । तर छानविन समितीले गरेको निर्णय जे आए पनि  स्विकार गरेरै अगाडी बढ्नुको विकल्प नरहेको उनको भनाई थियो ।

आफू एन्फाको जेठो सदस्य रहेको र एन्फा बाट विश्राम लिन चाहेको बताउँदै अहिले भएको विवाद मिलाउने तर्फ सबै एकजुट भएर अगाडी बढ्नुको विकल्प नरहेको समेत बताए । उनले भने–“प्रशिक्षक अलमुताइरीले माफी माग्छन र राजनितिक भाषा प्रयोग गर्दैनन भने मिल्ने विकल्पहरु छन । हामी अहिले सम्म यहाँ सम्म आइपुग्यौं अव १० महिनाको कुरा हो नेपालको फुटबल विकासको लागि र नेपाली फुटबल फ्यानहरुको बढ्दो क्रेजलाई ध्यानमा राख्दै सबै कुराको समाधान हुन्छ भने हामी मिलेर जान तयार नै छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close