न्युजिल्याण्ड क्रिकेट: विगतदेखि वर्तमानसम्म, पहिलो जितका लागि २६ वर्षको प्रतीक्षा

पोखरा स्पोर्ट्स ।  न्युजिल्याण्ड टी-२० विश्वकपमा आज भारतको सामना गर्दैछ ।  २०२१ मा उपविजेता बनेको न्यूजिल्याण्ड टी-२० विश्वकपको फाइनलमा दोस्रो पटक खेल्दैछ ।  यस रिपोर्टमा न्युजिल्याण्ड क्रिकेटको इतिहास र सफलता बारे चर्चा गर्दैछौँ ।   

न्युजिल्याण्डमा क्रिकेटको इतिहास करिब दुई सय वर्ष पुरानो मानिन्छ । सन् १८३२ मा एङ्ग्लिकन धर्मप्रचारक हेनरी विलियम्सले नर्थल्यान्ड क्षेत्रमा एउटा खेल आयोजना गरेका थिए, जसलाई न्युजिल्याण्डको इतिहासमा भएको पहिलो क्रिकेट खेल मानिन्छ । त्यसको करिब दस वर्षपछि, सन् १८४२ को डिसेम्बरमा वेलिङ्टनमा अर्को खेल खेलिएको थियो । उक्त खेलको स्कोर पनि अभिलेख गरिएको थियो, जसलाई स्कोर अभिलेख भएको पहिलो खेल मानिन्छ ।

सन् १८६४ मा अन्तर्राष्ट्रिय क्रिकेट न्युजिल्याण्ड पुगेको थियो । त्यस समयमा जर्ज पारको नेतृत्वमा आएको इंग्ल्यान्डको टोलीले ओटागो र क्यान्टरबरीका २२-२२ खेलाडी रहेको टोलीविरुद्ध खेल खेलेको थियो । ती चारै खेल इंग्ल्यान्डको टोलीले जितेको थियो । पछि सन् १९०६ मा गभर्नर लर्ड प्लन्केटले प्लन्केट शिल्ड प्रतियोगिता सुरु गरेका थिए, जसले न्युजिल्याण्डमा घरेलु क्रिकेटको विकासमा महत्वपूर्ण भूमिका खेलेको मानिन्छ ।

पहिलो जितका लागि २६ वर्षको प्रतीक्षा
न्युजिल्याण्डले सन् १९३० मा पहिलो पटक टेस्ट क्रिकेट खेल्ने राष्ट्रको रूपमा मान्यता पाएको थियो । तर टोलीले पहिलो टेस्ट जित हासिल गर्न २६ वर्ष कुर्नुपरेको थियो ।

इंग्ल्यान्ड र अस्ट्रेलियाजस्ता बलिया टोलीविरुद्ध जित हासिल गर्न पनि न्युजिल्याण्डलाई अझ धेरै समय लागेको थियो । पछि अकल्याण्डको ईडन पार्क मैदानमा वेस्ट इन्डिजलाई हराएर टोलीले महत्वपूर्ण जित हासिल गरेको थियो । न्युजिल्याण्डले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल सन् १९७३ फेब्रुअरी ११ मा खेलेको थियो । उक्त खेलमा पाकिस्तानलाई २२ रनले हराएको थियो । महिला टोलीले भने सन् १९३५ मा इंग्ल्यान्डविरुद्ध पहिलो टेस्ट खेलेको थियो ।

पछिल्ला वर्षमा ठूलो उपलब्धि
पछिल्ला केही वर्षमा न्युजिल्याण्डले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेको छ । सन् २०२० पछि टोली तीन पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को प्रमुख प्रतियोगिताको फाइनलमा पुगेको थियो । सन् २०२१ मा साउथ्याम्पटनको रोज बाउल मैदानमा भएको विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा न्युजिल्याण्डले भारतलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो ।

त्यही वर्ष दुबईमा भएको टी-२० विश्वकपको फाइनलमा भने अस्ट्रेलियासँग ८ विकेटले पराजित हुनुपरेको थियो । सन् २०२५ मा भएको च्याम्पियन्स ट्रफीको फाइनलमा पनि भारतसँग ४ विकेटले हार बेहोर्नुपरेको थियो ।

पहिलो अन्तर्राष्ट्रिय उपाधि
न्युजिल्याण्डले पहिलो पटक सन् २००० मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को प्रतियोगिताको उपाधि जितेको थियो । सो बर्ष च्याम्पियन्स ट्रफीको फाइनलमा भारतलाई ४ विकेटले हराएर टोलीले ऐतिहासिक सफलता हासिल गरेको थियो । यसपछि टोलीले अर्को २० वर्षमा तीन वटा फाइनल खेले पनि उपाधि जित्न सकेन । सन् २००९ को च्याम्पियन्स ट्रफी र सन् २०१५ को एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग हार बेहोर्नुपरेको थियो ।

सन् २०१९ को विश्वकप फाइनलमा इंग्ल्यान्डसँग बराबरी भएपछि सीमारेखा गणनाको नियमका कारण न्युजिल्याण्ड उपविजेतामै सीमित भएको थियो ।

बलियो आधार र खेल संस्कृतिको प्रभाव
न्युजिल्याण्डमा क्रिकेटको सफलतामा बलियो आधारभूत संरचना र खेल संस्कृतिको ठूलो भूमिका मानिन्छ । देशको जनसंख्या करिब ५० लाख मात्र भए पनि क्रिकेट खेल्ने दर्ता खेलाडीहरूको संख्या ठूलो छ । खेलाडीहरूलाई सानो उमेरदेखि नै विद्यालय र क्लब स्तरबाट छनोट गरेर तालिम दिइन्छ । कम संख्यामा खेलाडी भएकाले प्रशिक्षकहरूले प्रत्येक खेलाडीमाथि बढी ध्यान दिन पाउने अवस्था हुन्छ । त्यस्तै देशभर राम्रो खेल पूर्वाधार, मैदान र प्रशिक्षण केन्द्रहरू रहेका कारण पनि नयाँ प्रतिभा उत्पादन भइरहेका छन् ।

विशेषगरी नर्थ आइल्यान्डको दक्षिणी क्षेत्रमा पर्ने हकस बेमा सञ्चालन हुने क्रिकेट शिविरलाई न्युजिल्याण्ड क्रिकेटको नर्सरी मानिन्छ । यहाँबाट धेरै प्रसिद्ध खेलाडीहरू अघि बढेका छन् । विश्लेषकहरूका अनुसार न्युजिल्याण्डमा खेलप्रतिको संस्कार, बलियो आधारभूत संरचना र व्यवस्थित व्यवस्थापनकै कारण सानो देश भएर पनि विश्व क्रिकेटमा महत्वपूर्ण स्थान बनाउन सफल भएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close