‘टेनिस फर कज’का संयोजक अशोक गुरुङद्वारा ‘खेल्छ गण्डकी’का खेलाडीलाई खेल पोशाक वितरण

पोखरा स्पोर्ट्स । अस्ट्रेलियामा रहेर टेनिस तथा समाजसेवामा सक्रिय अशोक गुरुङले ‘खेल्छ गण्डकी’ कार्यक्रममा आवद्ध जुनियर टेनिस खेलाडीहरुलाई खेल पोशाक वितरण गरेका छन् । गण्डकी प्रदेश टेनिस संघद्वारा पोखरा टेनिस सेन्टरमा आइतबार आयोजित कार्यक्रममा ‘टेनिस फर कज’का संयोजक गुरुङले युवा खेलाडीहरुलाई पोशाक प्रदान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी गुरुङले ‘टेनिस फर कज’ स्थापना गर्नुको पछाडि आफ्नै जीवन अनुभव रहेको बताए । युवावस्थामा टेनिस सिक्ने ठूलो चाहना भए पनि आर्थिक अभावका कारण आफूले धेरै कठिनाइ भोग्नुपरेको स्मरण गर्दै उनले अहिले त्यस्तै अवस्था भोगिरहेका प्रतिभावान बालबालिकालाई अवसर दिन यो अभियान सुरु गरिएको बताए ।

उनले भने, “म पनि युवा अवस्थामा टेनिस सिक्न निकै संघर्ष गर्नुपरेको थियो । तर अहिले परिस्थिति फरक छ । गण्डकी टेनिसले विपन्न तथा कठिन परिस्थितिका बालबालिकालाई लक्षित गरेर अघि बढाएको ‘खेल्छ गण्डकी’ कार्यक्रमले मलाई निकै आकर्षित गर्‍यो । त्यसैले ‘टेनिस फर कज’ स्थापना गरेर अस्ट्रेलियामा रहेका नेपाली टेनिस प्रेमीहरुमार्फत सहयोग जुटाएका हौं । हामी आगामी दिनमा पनि यसलाई निरन्तरता दिने छौं ।”

संयोजक गुरुङले ‘खेल्छ गण्डकी’ कार्यक्रमबाट उत्पादन हुने खेलाडीहरूलाई केवल खेलाडीको रूपमा मात्र नभई टेनिस क्षेत्रका प्रशिक्षक, अफिसियल र अन्य जनशक्तिका रूपमा पनि विकास गर्ने लक्ष्यका साथ अघि बढेकोले पनि टेनिसमार्फत आत्मनिर्भर हुने यो यात्रालाई अझै सहज बनाउन आफूले आगामी ५ वर्षका लागि बार्षिक १ हजार अस्ट्रेलियन डलर दिने घोषणा समेत गरे ।

करिव ३० वर्षबाट टेनिसमा निरन्तर रहेका गुरूङ पोखरा ८ सिमलचौचर निवासी हुन् । उनले टेनिस फर कज मार्फत करिव ३ लाख ४ हजार संकलन गरी सहयोग गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थले तीन वर्षदेखि सञ्चालनमा रहेको ‘खेल्छ गण्डकी’ कार्यक्रमले छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गरेको बताए । उनका अनुसार कार्यक्रमबाट प्रशिक्षण लिएका खेलाडीहरू राष्ट्रिय जुनियर वरियतामा पर्न सफल भएको बताउँदै कायस्थले भने, “यो उपलब्धि हाम्रो एकल प्रयासबाट मात्र सम्भव भएको होइन ।  विभिन्न सहयोगी मनहरूकै साथ र सहयोगबाट सम्भव भएको हो । अस्ट्रेलियामा रहेका ‘टेनिस फर कज’ मार्फत प्राप्त सहयोगले कार्यक्रमलाई अझ प्रभावकारी बनाउन ठूलो योगदान दिएको छ । त्यसका लागि हामी हार्दिक आभार व्यक्त गर्दछौं ।”

अध्यक्ष कायस्थले यो अभियान खेलाडी उत्पादन मात्रै नभई आर्थिक अवस्थाले कमजोर परिवारका बालबालिका लाई टेनिस मार्फत आत्मनिर्भर बनाउने अभियान समेत रहेको उल्लेख गरे ।

कार्यक्रममा गण्डकी प्रदेश टेनिस संघका उपाध्यक्षद्वय लोकबहादुर गुरुङ र विष्णुबहादुर थापा, महासचिव नविन चालिसे, सचिव लक्ष्मण बराल तथा कोषाध्यक्ष प्रीती बरालले संयोजक गुरुङलाई स्वागत तथा सम्मान गरेका थिए।

गण्डकी प्रदेश टेनिस संघले विगत तीन वर्षदेखि अभियानका रूपमा ‘खेल्छ गण्डकी’ टेनिस कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रममार्फत हालसम्म ३५ जना विपन्न तथा अवसरबाट वञ्चित बालबालिकालाई निःशुल्क टेनिस प्रशिक्षण प्रदान गरिएको छ ।

तीन वर्षको अवधिमा यस कार्यक्रमबाट प्रशिक्षण प्राप्त १४ वर्षमुनि र १६ वर्षमुनि उमेर समूहका ६ जना खेलाडी नेपाली टेनिसको राष्ट्रिय वरियतामा पर्न सफल भएका छन् । साथै हालै तीन जना खेलाडी नेपाली टिमबाट श्रीलंकामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुनु कार्यक्रमको अर्को महत्वपूर्ण उपलब्धि मानिएको छ ।

संघका अनुसार आगामी दिनमा कार्यक्रमलाई अझ विस्तार गर्दै गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका प्रतिभावान तथा विपन्न वर्गका बालबालिकालाई टेनिस प्रशिक्षणको अवसर प्रदान गर्ने योजना रहेको छ । यसका साथै खेलाडीहरूको प्राविधिक विकास, प्रतियोगितामा सहभागिता र दीर्घकालीन खेलाडी उत्पादनलाई केन्द्रमा राखेर कार्यक्रमलाई निरन्तरता दिइने संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close