
पोखरा स्पोर्ट्स । २० औँ एसियाली खेलकुदको प्रवर्द्धनका लागि ‘एसियन गेम्स फन रन’ आयोजना हुने भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)को कार्यक्रमअन्तर्गत उक्त फन रन आयोजना गर्न लागेको हो ।
फन रन फागुन ३० गते शनिबार हुनेछ । एनओसी भवनको प्राङ्गणबाट सुरु हुने दौड पाटन दरबार स्क्वायर पुगेर समापन हुने बताइएको छ । कार्यक्रम सञ्चालनका लागि रामकृष्ण श्रेष्ठ बोसको संयोजकत्वमा पाँच सदस्यीय ‘एसियन गेम्स फन रन’ आयोजक समिति गठन गरिएको एनओसीले जनाएको छ ।
संयोजक श्रेष्ठका अनुसार एसियन गेम्सअघि एसियाली राष्ट्रहरूमा यस शीर्ष प्रतियोगिताको प्रवर्द्धनका लागि फन रन गर्ने परम्परा रहिआएको छ । “ओलम्पिकको भावनाअनुरूप रहेको यस परम्परालाई निरन्तरता दिँदै हामीले पनि पछिल्ला तीन वर्षदेखि एसियाली खेलकुदअघि फन रन आयोजना गर्दै आएका छौँ,” उनले भने । यसअघि एनओसीले सन् २०१८ मा भएको जाकार्ता–पालेमबाङ एसियाड तथा पछिल्लो ह्वाङजाउ एसियाडको प्रचारप्रसारका लागि पनि फन रन आयोजना गरेको थियो ।
करिब तीन किलोमिटर दूरीको सो फन रनमा सहभागीहरूले पाटन क्षेत्रका ऐतिहासिक सम्पदाको अवलोकन गर्ने अवसर पनि पाउनेछन् । कार्यक्रममा खेलाडी, विद्यार्थी, सञ्चारकर्मी, ओलम्पियन, विभिन्न खेल संघ–संस्था, कूटनीतिक नियोगका प्रतिनिधि तथा सुरक्षा निकायका सदस्य गरी करिब एक हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।
फन रनमा आइची–नागोया एसियन गेम्स आयोजक समितिका प्रतिनिधि, ओलम्पिक काउन्सिल अफ एसियाका प्रतिनिधि तथा नेपालका लागि जापानी राजदूतको पनि सहभागिता रहने संयोजक श्रेष्ठले जानकारी दिए ।
आगामी २० औँ एसियाली खेलकुद जापानको नागोया सहरमा आयोजना हुँदैछ । प्रत्येक चार वर्षमा हुने एसियाड यसपटक सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा सहभागिताका लागि नेपाल ओलम्पिक कमिटीले ३२ खेलको दर्ता गरिसकेको छ ।
