चौथो हिसान गण्डकी फुटसल : प्लस–२ तर्फ चिल्ड्रेन लाइफ र कलेजतर्फ इन्फरमेटिक्स च्याम्पियन

पोखरा स्पोर्ट्स । चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता २०८२ को उपाधि प्लस–२ तर्फ बागलुङको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल तथा विश्वविद्यालय (कलेज) तर्फ इन्फरमेटिक्स कलेजले च्याम्पियन भएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकीको आयोजनामा तथा सबिन मेमोरियल एफसीको व्यवस्थापनमा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा प्रतियोगिता सम्पन्न भएको हो ।

प्लस–२ तर्फको फाइनल खेलमा चिल्ड्रेन लाइफले पोखरा मासबारस्थित स्टेप वाई स्टेप स्कुललाई ३–१ गोलले पराजित गर्दै च्याम्पियन बन्यो । चिल्ड्रेन लाइफको जितमा आयुष पौडेलले दुई गोल तथा बरदान थापा मगरले एक गोल गरे भने स्टेप वाई स्टेपका आश्रय कुँवरले सान्त्वना गोल फर्काए । स्टेप वाई स्टेप लगातार दोस्रो पटक उपविजेतामै सीमित बन्यो ।

उपाधिसँगै चिल्ड्रेन लाइफले नगद रु १ लाखसहित रनिङ शिल्ड प्राप्त गर्‍यो भने उपविजेता स्टेप वाई स्टेपले नगद रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्‍यो । प्लस–२ तर्फ स्टेप वाई स्टेपका कुन्जन पौडेल उत्कृष्ट खेलाडी घोषित भए । चिल्ड्रेन लाइफका रेशम बाबु रिजाल उत्कृष्ट गोलकिपर तथा आयुष पौडेल सर्वाधिक गोलकर्ता बने ।

यता विश्वविद्यालय (कलेज) तर्फ इन्फरमेटिक्स कलेजले आफ्नो दबदबा कायम राख्दै उपाधि रक्षा गर्न सफल भयो । फाइनलमा इन्फरमेटिक्सले लेक सिटी कलेजलाई १–० गोल अन्तरले पराजित गर्‍यो । इन्फरमेटिक्सका लागि निर्णायक गोल सुशिल बरुवालले गरेका थिए ।

च्याम्पियन इन्फरमेटिक्सले नगद रु २५ हजार तथा उपविजेता लेक सिटी कलेजले नगद रु १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । विश्वविद्यालयतर्फ इन्फरमेटिक्सका नारायण प्रकाश पुन उत्कृष्ट खेलाडी घोषित भए भने पुकार गुरूङ उत्कृष्ट गोलकिपर र इन्फोम्याक्सका सवल दाहाल सर्वाधिक गोलकर्ता बने ।

प्रतियोगिताका विजेता टोली तथा उत्कृष्ट खेलाडीहरुलाई गण्डकी विश्वविद्यालयका उपकुलपति डा. कृष्ण राज अधिकारी, नेपाल ओलम्पिक कमिटी स्पोर्ट्स एकेडेमीका अध्यक्ष तेजबहादुर गुरूङ, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश व्यवस्थापन कार्यालयकी उपसचिव इश्वरी शाह, हिसान केन्द्रीय सल्लाहकार बाबुराम पन्त, केन्द्रीय उपाध्यक्ष डोलराज पाण्डेलगायतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा हिसान गण्डकी प्रदेशका अध्यक्ष डा.रामजी शर्माले प्रतियोगिताले युवा खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबिन मेमोरियल एफसीलगायत सबैप्रति आभार व्यक्त गरे ।

प्रतियोगितामा प्लस–२ तर्फ विभिन्न जिल्लाबाट छनोट भएका १६ टोली तथा विश्वविद्यालय (कलेज) तर्फ ८ टोली गरी कुल २४ टोलीको सहभागिता रहेको थियो । प्लस–२ समूहमा कास्कीबाट ८, बागलुङबाट ३, तनहुँबाट ३ तथा पर्वत र म्याग्दीबाट समान १–१ टोली सहभागी रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close