
पोखरा स्पोर्टस । कास्की एक दिवशिय क्रिकेटमा अरञ्यज्योती क्रिकेट क्लबले सहज जित दर्ता गरेको छ ।
पोखरा रंगशालामा जारी प्रतियोगितामा अरञ्यज्योती ७६ रनले जित हात पारेको छ भने गण्डकी स्पोर्टस क्लब हार संगै प्रतियोगिताबाट बाहिरिएको छ । टस हारेर इनिङको सुरुवात गरेको अरञ्ज्योतीले ३८.६ ओभरमा १० विकेटको क्षतीमा १५५ रन बनायो ।
जित संगै सेमीफाइनलमा प्रवेश गरेको अरञ्यज्योतीका लागि सुलभ सुबेदीले १०६ बलको सामाना गर्दै दुई चौकाका साथमा ४६ रन बनाए । प्रविन पौडेलले २४ बलमा १ छक्का र १ चौकाका साथमा २३ रन बनाए । प्रदिप पौडेलले २६ बलमा २० रन बनाउँदा अमित गजुरेलले १० रन बनाए । अन्य खेलाडीहरुले भने दोहोरो रन छुन सकेनन् ।
गण्डकीका लागि शिद्धान्त गिरीले १० ओभरको स्पेलमा ५० रन दिएर सर्वाधिक ४ विकेट हात पारे । अजय राम र सुमन अधिकारीले समान २/२ विकेट लिंदा विमोचन सापकोटा र सुस्मानी गौतमले समान १÷१ विकेट लिए ।
गण्डकी स्पोर्टस १५६ रनको लक्ष्य पाछ्याउँदै २०.४ ओभरमा ७९ रनमा अल आउट हुन पुग्यो । जसमा २४ रन अतिरिक्त रन समेत गण्डकीले पाएको थियो । गण्डकीका लागि शिद्धान्त गिरीले २२ र अजय रामले १९ रन बाहेक अन्य खेलाडीहरु सस्तैमा पेभिलियन फर्किए ।
गण्डकीलाई सस्तैमा समेट्न सोम बहादुर थापाले ५ ओभरमा २ मेडन राख्दै १५ रन दिएर ४ विकेट लिए । प्रविन पौडेलले ५ ओभरमा २ मेडन राख्दै १५ रन दिएर ३ विकेट लिन सफल भए । उनी खेलको म्यान अफ दि म्याच समेत बने । अरञ्यज्योतीका बलर अब्दुल कालिक मिया, प्रदिप पौडेल र कल्याण कुमालले समान १/१ विकेट लिए ।
भोली (बुधबार)को खेल पोखरा क्रिकेट क्लब र सांग्रिला क्रिकेट क्लबका बिच हुनेछ । दुबै टिमलाई अन्तिम चारमा स्थान बनाउन भोलीको खेल महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
