रोनाल्डोले किने स्पेनिस क्लब अल्मेरियाको २५ प्रतिशत सेयर

पोखरा स्पोर्ट्स ।  क्रिस्टियानो रोनाल्डोले खेल जीवनसँगै व्यावसायिक क्षेत्रमा समेत ठूलो कदम चाल्दै स्पेनिस फुटबल क्लब युनियन डिपोर्टिभा अल्मेरियाको २५ प्रतिशत सेयर खरिद गरेका छन् ।

रोनाल्डोको स्वामित्वमा रहेको लगानी संस्था सीआर सेभेन स्पोर्ट्स इन्भेष्टमेन्टमार्फत उक्त सम्झौता औपचारिक रूपमा सम्पन्न भएको जनाइएको छ । हाल साउदी क्लब अल नासरबाट खेलिरहेका रोनाल्डोले स्पेनिस फुटबलसँग आफ्नो सम्बन्ध थप मजबुत बनाउने उद्देश्यले लगानी गरेको बताएका छन् ।

४१ वर्षका रोनाल्डोले मैदान बाहिर पनि फुटबलको विकासमा योगदान गर्ने आफ्नो दीर्घकालीन योजनाअनुसार क्लबमा लगानी गरिएको उल्लेख गरेका छन् । हाल दोस्रो श्रेणीको स्पेनिस प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको अल्मेरिया अंक तालिकामा तेस्रो स्थानमा रहेको छ र क्लबको भविष्यमा उल्लेखनीय सम्भावना रहेको उनले बताएका छन् ।

क्लब अध्यक्ष मोहम्मद अल खेरेइजीले रोनाल्डोको आगमनलाई स्वागत गर्दै उनको अनुभव र रणनीतिक दृष्टिकोणले पहिलो टोलीसँगै युवा एकेडेमीको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

सम्झौतासम्बन्धी आर्थिक विवरण सार्वजनिक नगरिए पनि यसलाई क्लबको दीर्घकालीन विकास लक्षित रणनीतिक लगानीका रूपमा वर्णन गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close