
पोखरा स्पोर्ट्स । सहारा क्लब पोखराद्वारा सञ्चालित सूर्यबहादुर केसी स्मृति आवासीय फुटबल एकेडेमीमा अत्याधुनिक फ्लडलाइट जडान गरिएको छ । सहारा क्लबका संस्थापक कोषाध्यक्ष तथा सहारा यूकेका संस्थापक महासचिव रामचन्द्र गुरुङ तथा पूर्व कोषाध्यक्ष उनकी धर्मपत्नी उमादेवी गुरुङको आर्थिक सहयोगमा फ्लडलाइट जडान सम्पन्न गरिएको हो ।

एकेडेमीमा आवासीय रूपमा रहेका बाल खेलाडीहरूको फुटबल विकास तथा रात्रिकालीन अभ्यासलाई व्यवस्थित बनाउने उद्देश्यले फ्लडलाइट जडान गरिएको गुरुङ दम्पत्तिले बताएका छन् । छ वटा पोलमा ३ हजार वाट क्षमताका फ्लडलाइट जडान गरिएको संरचनाको बुधबार साँझ औपचारिक शुभारम्भ गुरुङ दम्पत्तिले स्विच अन गर्दै गरेका हुन् ।
पूर्व अध्यक्ष विक्रम थकालीको प्रस्ताव तथा पूर्व उपाध्यक्ष विश्वराज बरालको समन्वयमा फ्लडलाइट जडान कार्य सम्पन्न भएको क्लबका महासचिव गंगाराज पौडेलले जानकारी दिएका छन् ।
कार्यक्रममा बोल्दै रामचन्द्र गुरुङले एकेडेमीका खेलाडीहरूका साथै विभिन्न पेशा–व्यवसायमा आवद्ध व्यक्तिहरूले पनि साँझको समयमा मैदान प्रयोग गरी स्वास्थ्य प्रवर्द्धन तथा मैत्रीपूर्ण फुटबल संस्कृतिको विकास गर्न सक्ने बताए । विदेशमा जस्तै बेलुकी अभ्यास गर्ने संस्कार विकास गर्न सहयोग पुर्याउने उद्देश्यले फ्लडलाइट जडानमा सहयोग गरिएको उनको भनाइ थियो ।
क्लबका अध्यक्ष केशवबहादुर थापाले गुरुङ दम्पत्ति परिवारबाट सहारा क्लब तथा आहा रारा पोखरा गोल्डकपलाई लामो समयदेखि निरन्तर सहयोग प्राप्त हुँदै आएको उल्लेख गरे । क्लबप्रतिको आत्मीयताका कारण उहाँहरू प्रत्येक पटक पोखरा आउँदा सहयोगसहित उपस्थित हुने गरेको अध्यक्ष थापाले बताए ।
सचिव ज्ञानेन्द्र गुरुङले रात्रिकालीन अभ्यास सञ्चालनसँगै खेलाडीहरूले ‘फ्लडलाइट अनुभव’ प्राप्त गर्ने र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहारा क्लबका मानार्थ सदस्य तथा सहारा यूकेका प्रमुख सल्लाहकार महेश गुरुङ, सहारा हङकङका संस्थापक अध्यक्ष दीपक गुरुङ, पूर्व अध्यक्ष विक्रम थकाली, वरिष्ठ उपाध्यक्ष पूर्ण गुरुङ, कोषाध्यक्ष लीलबहादुर थापा, पूर्व उपाध्यक्ष विश्वराज बराल, पूर्व महासचिव रामजीप्रसाद अधिकारी, पूर्व कोषाध्यक्ष नवराज अधिकारी, आजीवन सदस्य सुदर्शन रन्जित, समाजसेवी चन्द्रावती गुरुङलगायतको उपस्थिति रहेको थियो ।
पोखरा–१७ दोविल्लामा २०६९ माघ २६ गतेदेखि सञ्चालनमा रहेको सहारा फुटबल एकेडेमीमा हाल ९०×६० मिटरको फुटबल मैदान रहेको छ । नयाँ फ्लडलाइट जडानसँगै अब नियमित रात्रिकालीन प्रशिक्षण सञ्चालन गर्न सहज हुने क्लबले जनाएको छ । एकेडेमीमा हाल ३० जना बाल खेलाडी आवासीय रूपमा प्रशिक्षणरत छन् ।