रजत वर्ष यात्राः आहा रारा गोल्डकप सफलतासँगै सहारा यूके टोली बेलायत फर्कियो

पोखरा स्पोर्ट्स । बेलायतमा रहेर खेलकुद, शिक्षा तथा सामाजिक क्षेत्रमा सक्रिय संस्था सहारा यूके रजत वर्ष विशेष अभियान सफलतापूर्वक सम्पन्न गरी आफ्नो कर्मथलो बेलायत फर्किएको छ ।

सहारा क्लबको रजत वर्ष संस्करणमा आयोजित आहा रारा पोखरा गोल्डकप कार्यक्रमलाई मुख्य कार्यक्रमका रूपमा सफलतापूर्वक सम्पन्न गरेको हो । नवनिर्वाचित अध्यक्ष सारदा गुरूङ सहित संस्थापक अध्यक्ष नविन गुरूङ, पूर्व अध्यक्षहरु मिन बहादुर गुरूङ, ले.रि.कुशाङ गुरूङ, कुमार गुरूङलगायत करिव ५० जनाको टोली रजत वर्ष गोल्डकपसहित विभिन्न कार्यक्रम तथा सामाजित कार्यमा सहभागि भएको थियो ।

रजत वर्षलाई विशेष बनाउँदै सहारा यूकेले पुरस्कार राशिका लागि सहारा क्लब पोखरालाई नगद ३ लाख रुपैयाँ हस्तान्तरण गरेको थियो। साथै विगत वर्षझैँ यस पटक पनि ट्रफी, मेडल तथा विभिन्न पुरस्कार प्रायोजन गर्दै प्रतियोगिताको गरिमा बढाएको थियो ।

यस्तै सहारा युकेले यस वर्ष तीनवटा विभिन्न जिल्लाका विद्यालयहरुलाई ३–३ लाखका दरले छात्रवृत्ती स्थापना गरेको थियो । छात्रवृत्ती स्थापना गरिएका विद्यालयहरुमा सिन्धुपाल्चोक मेलम्चीस्थित महादेवस्थान हैवुङ मावि, कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङस्थित सरस्वति आधारभूत विद्यालय र गोरखाको आरुघाट गाउँपालिका–१ धुन्चेतस्थित गणेश आधारभूत विद्यालय रहेका थिए ।

कर्मथलो फर्किने क्रममा पूर्व अध्यक्ष मिनबहादुर गुरुङले रजत वर्ष विशेष भएकाले यस वर्ष सहारा यूकेका अधिकांश सदस्यहरू नेपाल आएको उल्लेख गरे । उनले भने, “हामीले सोचेभन्दा उत्कृष्ट परिणाम आयो । रजत वर्षमै ट्रफी आफ्नै घरमा राख्न पाउनु हाम्रो लागि अविस्मरणीय क्षण बन्यो । यो क्षण गोल्डकपको इतिहासमा सधैं स्मरणीय रहनेछ ।”

उनका अनुसार यस वर्षको नेपाल भ्रमण केवल प्रतियोगितामा सीमित नरही शिक्षा र सामाजिक क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने योजनामा केन्द्रित रह्यो । नयाँ नेतृत्वलाई संस्थाको विगतको पहिचानलाई अझ सशक्त बनाउँदै खेलकुद र सामाजिक अभियानलाई परिस्कृत ढंगले अघि बढाउने अवसरसमेत यस यात्राले प्रदान गरेको उनले बताए ।

रजत वर्षको उत्साह, ट्रफी जितेको गौरव र शिक्षा क्षेत्रमा दीर्घकालीन लगानी–यी तीन आयामले सहारा यूकेको यसपटकको नेपाल यात्रा केवल औपचारिक भ्रमण नभई भावनात्मक, ऐतिहासिक र परिणाममुखी अभियानका रूपमा स्थापित भएको पूर्व अध्यक्ष गुरूङले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close