उपचारका लागि १ करोड ५० लाख संकलनः साम्वाले भनिन्– ‘अब पुग्यो, सहयोगका लागि धन्यवाद’

पोखरा स्पोर्ट्स । राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी (साम्वा) ले आफ्नो उपचारका लागि आवश्यक आर्थिक सहयोग संकलन भइसकेको जानकारी दिएकी छन् । सामाजिक सञ्जालमार्फत सहयोगका लागि अपिल गरेसँगै छोटो समयमै करिब १ करोड ५० लाख रुपैयाँ संकलन भएको उनले जनाएकी हुन् ।

साम्वाले संकलित रकम उपचारका लागि पर्याप्त भएको बताउँदै अब थप सहयोग नगर्न आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जालमा भावुक सन्देश साझा गर्दै देश–विदेशमा रहेका नेपाली, खेलप्रेमी, संघ–संस्था तथा शुभेच्छुक सबैप्रति हार्दिक आभार व्यक्त गरेकी छन् ।

पछिल्लो २४ घण्टामा उपचारका लागि उल्लेखनीय साथ, विश्वास र सहयोग प्राप्त भएको उल्लेख गर्दै उनले नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी तथा विदेशी माध्यममार्फत करिब ४५ लाख रुपैयाँ संकलन भएको जानकारी दिएकी हुन् । 

साम्बाले भनेकी छन्- ‘आज ‘धन्यवाद’ शब्द निकै सानो लागेको छ । पछिल्लो २४ घण्टामा मेरो उपचारका लागि जुन साथ, विश्वास र माया मैले पाएको छु, त्यो शब्दले वर्णन गर्न सक्दिन ।  आर्थिक रुपमा त यहाँहरुले मेरो उपचारका लागि लाग्ने खर्च जुटाइदिनु भयो नै, मैले पाएको साथ र वाचाले मलाई अझ बलियो बनाएको छ । यहि उर्जाले म आफ्नो शल्यक्रिया र पुनर्स्थापनामा शत प्रतिशत मिहिनेत गर्नेछु ।’   

साम्बाले विभिन्न संघ-संस्था र व्यक्तित्वले नगद तथा अन्य सुविधा सहयोगको प्रतिबद्धता जनाएकाले उपचार, आवास र यातायात खर्च पुग्ने देखिएको उनले बताइन् । कतारमा उपचारको तयारी भइरहेका बेला आफू आबद्ध क्लब वेलिङ्टन फिनिक्सले पनि बीमा रकम निकासा गरी थप सहयोग गरिरहेको उनले उल्लेख गरेकी छन् । चाँडै शल्यक्रियाको मिति तय हुने विश्वास व्यक्त गर्दै उनले पूर्ण मेहनतसाथ पुनर्स्थापनामा लाग्ने प्रतिबद्धता जनाइन् ।

“तपाईंहरू सबैको माया, साथ र सहयोगले मलाई ठूलो हौसला मिलेको छ । उपचारका लागि आवश्यक रकम जुटिसकेको छ। अब थप सहयोग नगर्नुहोला,” उनले लेखेकी छन्–“अब उपचार लगतै यहाँहरु सँग मैदानमा भेटौला ।

हाल साम्वा चिकित्सकको निगरानीमा उपचाररत रहेकी छन् । चिकित्सकको सल्लाहअनुसार आगामी उपचार प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

नेपाली महिला फुटबलमा महत्वपूर्ण योगदान दिँदै आएकी साम्वा राष्ट्रिय टिमकी प्रमुख खेलाडीका रूपमा चिनिन्छिन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएकी उनीप्रति समर्थकहरूले शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close